सुरक्षाकर्मीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा रहेर काम गरिरहेका सुरक्षाकर्मीकोे पीसीआर कोरोना परीक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाअन्तर्गत जिल्लाभरका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानको पिसीआर कोरोना परीक्षण गरिएको हो । सबै जनाको परीक्षणको नतिजा नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

जिल्लाको आइसोलेसन अस्पतालमा सात, १० स्थानमा स्थापना गरिएको हेल्थ डेस्कमा ४०, ५४ स्थानमा स्थापना गरिएको क्वारेन्टाइनमा २१६ सुरक्षाकर्मी खटिएका छन् । ९ वटा चेकप्वाइन्टमा ३५, पैदल गस्तीमा ३५, भ्यान गस्ती १४, सात बिट पिकेट २१ गरी जम्मा ३६० जना सुरक्षाकर्मी परिचालन भएको जनाएको छ ।

जुम्ला अस्पतालमा कोरोना जाँच पीसीआर उपकरण सञ्चालनमा आएदेखि ९४९ जनाको जाँच भएको छ । कालिकोटका १० र जुम्लाका ८६५ जनाको पीसिआर जाँच भएको हो । यसअघि काठमाडौं र सुर्खेतमा ३३९ जनाको परीक्षण गरिएको थियो । हालसम्म जुम्लामा कोरोना संक्रमण देखिएको छैन ।

सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस