प्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमा दैनिक योगा


मानदत्त रावल, जुम्ला ः
मुलुकभर कोरोना भाइरस फैलिदो अवस्थामा छ । यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि देश ५६ दिनदेखि लकडाउनमा छ । लकडाउनका कारण खास गरी अहिले भारत तथा तेस्रो मुलुकमा अलपत्र परेका नागरिकलाई उद्धार गरी ल्याएर जिल्लास्थित एकिकृत क्वारेन्टाइनमा राखिएको हो ।
यहाँको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको एकीकृत क्वारेन्टाइनमा भारतको रुपैडिहाबाट उद्धार गरी ल्याएका हिमा गाउँपालिका २५ जना, कनकासुन्दरी एक जना, तिलाका एक जना, हुम्ला जिल्लाका एक जना र मुगु जिल्लाका एक जना गरी २९ जना नागरिकलाई क्वारेन्टिनमा राखिएको हो ।
आयुर्वेद औषधालय जुम्ला चिकित्सक प्रतिभा शर्मा योग गुरु हुन् । क्वारेन्टाइनमा बसेका नागरिकलाई दैनिक योगा गराउदै छन् । उनले हरेक दिन विहान योगा गराउदै आएकी हुन् ।
प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिले कोरोना भाइरस वा अन्य रोगको संक्रमण सम्भावना बढी हुन्छ भन्ने चिकित्सकिय मान्यता भएकोले प्रतिरोधात्मक शक्ति बढाउनका लागि दैनिक योगा गर्ने गरिएको आयुर्वेद चिकित्सक शर्माले बताइन् । उनले भनिन् “क्वारेन्टाइनमा बसेका नागरिकलाई कोरोना रोग सम्वन्धी सचेतीकरण, मनोविर्मश पनि गर्ने गरिएको छ ।”
यो भाइरस शरीरको तापक्रम कम भएका मानिसलाई छिटो संक्रमण हुन्छ । संक्रमण बढ्दा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरको तापक्रम बढाउन तातोपानी खान सकिन्छ । साथै, बाफ लिएर पनि शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सकिने चिकित्सकको सुझाब रहेको छ ।
गाँजा र रक्सी खाँदा प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने भ्रम मात्रै हो । धुमपान र मद्यपान सेवनले प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने भएकाले यस्ता चिज सेवन गर्नुहुँदैन । मध्यपान र धुर्मपान गर्ने व्यक्तिलाई कोरोनाले संक्रमण गर्ने गरेको विभिन्न अध्ययन र घटनाक्रमले देखिएको उनले बताइन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलले भने “प्रतिरोधात्मक क्षमता कमजोर हुनु , जसकारण भाइरसले छिटो संक्रमण गर्छ । वृद्धवृद्धा मात्रै नभएर क्यान्सरपीडित, मिर्गौला रोगी, मधुमेहका बिरामी साथै पहिलेदेखि नै रोगसँग लड्ने क्षमता कमजोर भएका जोकोहीलाई पनि यसको संक्रमण छिटो हुने गर्छ ।”
सीमा जोडिएका छिमेकी मुलुक चीन र भारतमा समेत कोभिड–१९ को संक्रमण फैलिन थालेपछि नेपालमा स्वाभाविक चिन्ता सुरु भएको उनले बताए । अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै पनि औषधी, भ्याक्सिन आधिकारिक रुपमा पत्ता लागेको छैन । त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेकै संक्रमणबाट बच्नु हो ।
त्यसबाहेक आफूलाई संक्रमण नहुने गरी तयार पार्नु अझ महत्वपूर्ण पक्ष हो । प्रतिरोधात्मक क्षमता बढाउनका लागि नियमित रुपमा योगा, ध्यान, व्याम गर्न पर्दछ । विभिन्न अध्ययनले पनि देखाएको छ कि नियमित योगाले मासिनमा भएको (इमिनिटि पावर) प्रतिरोधात्मक बढाएको छ । त्यसैगरीम, प्रतिरोधात्मक क्षमता बढाउनका लागि कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा फ्लुविरुद्ध लड्नुका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ  डा. रावलले बताए ।
एन्टिअक्सिजन बढी भएका खानेकुरा बढी खाने गर्नुपर्छ । जस्तै, फलफूल, भिटामिन ए, सी र ई भएका खानेकुरा । ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन भान्सामा दैनिक पाक्ने खानेकुरा खानु पर्दछ । दाल, चामल, हरिया सागसब्जी, घरायसी मसला, खिचडी, तरुल, क्वाटी, रोटी, ढिंडो, दूध, दही मोही, ताजा अचार, खीर, पुरीजस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
पछिल्लो समयमा जिल्लास्थित मापदण्ड अनुसारको एकीकृत क्वारेन्टाइन बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले  भने भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको छ । क्वारेन्टाइनको सुरक्षा निगरानी नेपाली सेनाले गरिरहेका छन् । क्वारेन्टाइनमा बसेका नागरिकको चिकित्सकको टोलीले पनि पटक पटक तापक्रम चेकजाँच गर्ने र पहिलो चरणमा आरडिटी परीक्षण गर्ने, रिपोर्टका आधारमा आरटी पिसिआर परीक्षण गरिने छ ।
जिल्लामा अहिले एक हजार २ सय ७९ जनाको पिसिआर र २ सय ६३ जनाको आरडिटी परीक्षण गरिएको थियो । यसमा रिपोर्ट सवै जनाको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया