लकडाउन प्रभावित विपन्न नागरिकलाई राहत


जुम्ला ः कोरोना भाइरसले (कोभिड –१९) मुलुक त्रसित छ । यसलाई रोकथाम तथा नियन्त्रण गर्न देश ५६ दिनदेखि लकडाउनमा छ । लकडाउनका कारण विपन्न नागरिकले ज्याला मजदुरी गर्न पाएका छन् । ज्याला मजदुरी गर्न नपाउदा विपन्न नागरिक प्रभावित भएका हुन् ।
लडाउनका कारण प्रभावित नागरिकलाई छाक टार्नका लागि चन्दननाथ नगरपालिकाले राहत वितरण गरेका छ । नगरपालिकाले २ नम्बर वडाका १८६ जनालाई राहत वितरण गरेको हो । उद्योग बाणिज्य संघ जुम्लाबाट १० जना, आर्ट अफ द नेपाल लिमिटेडबाट १० जना र १ सय ६६ जनालाई नगरपालिकाको तर्फबाट गरी १८६ जनालाई राहत वितरण गरेको नगर उपप्रमुख अप्सरादेवी महतले बताइन् ।
विपन्न तथा दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई लक्षित गरी राहत वितरण गरिएको नगर उपप्रमुख महतले बताइन् । उनले भनिन् “लकडाउनको समयवधि बढेपछि विपन्नको छाक टार्न समस्या भएकाले राहत वितरण गरिएको हो ।”
१५ किलो चामल, एक लिटर तेल र एक किलो नुन राहत स्वरुप वितरण भएको वडाध्यक्ष धनरासी भण्डारीले जानकारी दिए । लकडाउनले प्रभावित भएका विपन्न, अपाङ्ग, असहाय, बृद्ध र बेरोजगार व्यक्तिहरुलाई छनोट गरि राहत वितरण गरिएको उनले बताए । राहत वितरण संघीय सरकारले बनाएको मापदण्ड अनुसार वितरण गरिएको छ ।
लकडाउन अवधिभर जिल्लामा ११ हजार २ सय ११ जना नागरिक भित्रिएका छन् । जिल्ला भित्रिएका नागरिक मध्ये ३५ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार २ सय २४ जना नागरिक १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । एक हजार ५ सय ५४ जनाको पिसिआर र २ सय ६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया