जुम्ला – कर्णाली प्रदेश सरकारले आरटी पिसिआर कोरोना परीक्षणका लागि साविक कर्णालीका हुम्ला, डोल्पा, जुम्ला, मुगु र कालिकोट जिल्लाको स्वाब संकलन गरी परीक्षण गर्ने जिम्मेवारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला दिएको छ । प्रतिष्ठानले जिम्मेवारी पाए अनुसार हुम्लामा ५००, कालिकोटमा ६५२ र मुगुमा ४०० स्वाब संकलन गरेको हो ।
प्रतिष्ठानले चिकित्सकसहित स्वास्थ्यकर्मी परीचालन गरी पिसिआर परीक्षण गर्न स्वाब संकलन गरेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक मंगल रावलका अनुसार जिल्ला जिल्लामा संकलन गरिएको स्वाब परीक्षणका लागि जुम्ला ल्याउने तयारी भईरहेको छ । उनले भने, ‘स्वाब प्रतिष्ठानमा ल्याएपछि पुलिङ विधिबाट परीक्षण गरिने छ ।’
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रपंतीमा खटिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य कार्यालय जुम्लाका २५७ जना स्वास्थ्यकर्मीको आरटी पिसिआर गरिएको छ । परीक्षणमा रिपोर्ट सवै जनाको नेगेटिभ आएको प्रतिष्ठानका ल्याव इन्र्चाज विबेक पुन मगरले बताए ।
त्यसैगरी १७ जना पिसिआर र १० जना प्रहरीको आरडिटी परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । जिल्लाका क्रियाशिल १८ जना पत्रकारको पनि पिसिआर परीक्षण गरिएको छ । यसमा पनि रिपोर्ट नेगेटिभ नै आएको प्रतिष्ठानले जनाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला कोरोना परीक्षण आरटी पिसिआर उपकरण सञ्चालनमा आएदेखि कालिकोट जिल्लाका ३८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।