राहत वितरण गर्न नगरपालिकालाई सनराइज बैंकको सहयोगमा खाद्यन्न



जुम्ला–सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा यहाँको चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ । लकडाउन प्रभावित विपन्न घर परिवारलाई खाद्यन्न (चामल) उपलव्ध गराउने उद्देश्यले नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको हो ।
सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीका अनुसार नगरपालिकाको कोरोना महामारीको राहतका लागि सहयोग गर्न माग भएपछि खाद्यन्न उपलव्ध गराएको हो ।
वित्तिय संस्था बैकको सामाजिक दायित्वका लागि केही काम गर्नुपर्ने उद्देश्य अनुसार महामारीमा राहतका लागि खाद्यन्न (चामल) उपलव्ध गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यहि सामाजिक दायित्व अनुसार जुम्लाको चन्दननाथ नगरपालिकालाई ५० हजार रकम बराबर २५ किलोको ३७ बोरा चामल उपलव्ध गराएको हो ।”
चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले भन्नुभयो अहिले कोरोना भाइरसको महामारीले मुलुक नै संकटमा परेको छ । यो संकटको घडीमा राज्यलाई सहयोगको आवश्यकता परेका छ ।
लामो समयदेखिको लकडाउनले यहाँका विपन्न तथा ज्याला मजदुरी गरी विहान बेलुका छाक टार्ने घरपरिवार प्रभावित भएका छन् । उनै प्रभावित घरपरिवारहरुका लागि अहिले राहतको आवश्यकता परेको उहाँले बताउनुभयो ।

नगरपालिकाले आफ्नो तर्फबाट राहत वितरण गरेपनि अहिले अपुग नै भएको छ । विपन्न घरपरिवारका लागि नगरपालिकाले वित्तिय संस्था बैंकलाई पनि राहतका लागि सहयोग गर्न अनुरोध गरेका थियौँ नगरप्रमुख सेजुवालले भन्नुभयो सोही अनुसार सनराइज बैकले सहयोग गरेका हो ।
यसअघि चन्दननाथ नगरपालिकाले दुई हजार पाँच सय ३९ जनालाई राहत वितरण गरेको जनाएको छ । विपन्न बर्ग, जेष्ठनागरिक, अपाङ्ग, सुत्केरी महिला र बाहिर जिल्लाबाट जुम्ला आएर लकडाउनमा अलपत्र परेका नागरिकलाई राहत वितरण गरेको हो ।

तपाईको प्रतिक्रिया