
जुम्लामा पार्किङ गरी राखेको दुईवटा मोटरसाइकलमा आगजनी गरिएको छ ।
आगजनी कसले र किन गऱ्याे भन्ने अझै पत्ता लागिनसकेको प्रहरीले जनाएको छ ।
गएराति चन्दननाथ नगरपालिका– ४ स्थित कर्णाली बोर्डिङ स्कुलनजिकै पार्किङ गरेर राखिएको मोटरसाइकलमा आगजनी गरिएको हो ।
एउटा मोटरसाइकल कभर्ड हलनजिक र अर्काे मोटरसाइकल पार्किङ गरेको स्थानदेखि एक सय मिटर अगाडि पुऱ्याएर आगो लगाएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।
चन्दननाथ– ७ का पदमराज रावलको भे.४प ६८१० नम्बरको मोटरसाइकल जलेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक चन्दले बताए ।
त्यसैगरी चन्दननाथ– ९ का लक्ष्मीचन्द्र रावलको क.१प २०७० नम्बरको मोटरसाइकल जलेको अवस्थामा भेटिएको हो ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि जुम्ला बजारभित्र विभिन्न स्थानमा पार्किङ गरी राखिएका सवारीसाधन मोटरसाइकल अज्ञात व्यक्तिहरूले आगजनी गर्ने र कतिपय समयमा अन्यत्र स्थानमा लगेर बेवारिसे अवस्थामा फालिदिनेसमेत गरेका छन् ।