
जुम्लाको सिंजा गाउँपालिकाले सिंजा सभ्यता, खस संग्रहालय बनाउने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाले छैटौँ गाउँ सभामा यस्तो नीति तथा कार्यक्रम ल्याएको हो । संग्रहालयमा आवश्यक पर्ने पुरातात्विक सामग्री उपलव्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सिंजा रंगशालाको निर्माण कार्यलाई निरन्तरता दिदै एक वडा एक खेल मैदान निर्माण गर्ने अभियानसँग युवा तथा खेलकुद कार्यक्रमलाई जोड एिको पनि गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । त्यसैगरी जनतासँग अध्यक्ष, महिलासँग उपाध्यक्ष, जस्ता कार्यक्रमलाई पनि निरन्तरता दिएको नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।
सामुदायिक वनमा क्षेत्रमा वृक्ष रोपण, सामुहिक रुपमा स्याउ, ओखर, जडीबुटी रोप्ने गाउँपालिकाले नीति तथा कार्यक्रम लिएको जनाएको छ । व्यवसायिक रुपमा पशुपंक्षी पालन गरी व्यवसाय गरी सहकारीमा जोड्ने, दुग्ध व्यवसायलाई प्रथामिता दिने जस्ता कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष रावलले बताए ।
जलवायू परिवर्तनका असर न्यूनिकरण गर्नका लागि बृक्ष रोपण गर्दै बोटविरुवा नास हुनबाट जोगाउने, वन क्षेत्र विस्तार गर्ने, जलवायू अनुकुलित हुने कार्यक्रम सञ्चालन गरिने छ । प्राकृतिक प्रकोप रोकथाम गर्नका लागि नदी नियन्त्रण, जलाधार संरक्षण, फोहोरमैला व्यवस्थापन, जंगली जीवजन्तुको अवैध चोरी निकासी रोकथाम गर्न सुरक्षा निकायसँग सहकार्य गरी कानुनी दायरामा ल्याउने पनि नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।
केही लद्युजलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन भैसकेको र अन्य स्थानमा पनि सम्भाव्यता अध्ययन गरी यस क्षेत्रमा विगतदेखि सञ्चाललनमा रहेका लद्युजलविद्युत आयोजना, सौर्य, वायू उर्जा लगायतका कार्यक्रमलाई निरन्तरता दिइने छ । उर्जा पबद्र्धन गर्नका लागि संघीय सरकार प्रदेश सरकार, विद्युत प्राधिकरणसँग समन्वय गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
स्थानीय स्तरमा उत्पादित फलफुल तथा अन्य नगदे बालीहरु र जडीबुटी संकलन गरी सुरक्षित भण्डारणका लागि सिंजा भेगलाई समेट्ने गरी शित भण्डार तथा जडीबुटी संकलन केन्द्र पनि निर्माण गरिने छ । बजार माग बढेको समयमा भण्डार गरिएका बस्तु विक्रीवितरण गर्ने पनि गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको जनाएको छ ।
यहाँका सवै वडामा कच्ची सडक पुगी सकेकोले सडक स्तारोन्नती गर्ने, अन्तर स्थानीय तह, जिल्ला जोड्ने सडको स्तरबृद्धि गर्ने जस्ता पनि कार्यक्रम तथा आयोजना गरिने सिंजा गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक बर्ष ०७७÷०७८ मा ३० करोड २६ लाख ७२ हजार अनुमानित बजेट विनियोजना गरिएको छ ।