कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो


कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय नाघेको छ ।

बुधबार कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा २४ जना कोरोना भाइरस संक्रमित थपिँदा संक्रमितको संख्या १७ सय १४ पुगेको हो ।

सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १४ जना, दैलेखका तीनजना, जुम्ला, अछाम र सल्यान एक–एकजना गरी २१ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यान तीनजना कोरोना संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७ सय १४ पुगेको सामाजिक विकास डा. तिवारीले बताए ।

कर्णालीमा बुधबार १३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

दैलेख अस्पताल चारजना, दैलेखको नौमुले गाउँपालिकाको आइसोलेसनबाट तीनजना, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका शंकर माध्यमिक विद्यालय सेरीज्युला आइसोलेसनका चारजना, कालिकोटको पलाँता गाउँपालिकाको आइसोलेसनका एकजना र जुम्लाबाट एकजना डिस्चार्ज भएको डा. तिवारीले बताए ।

हाल कर्णालीमा कोरोना संक्रमण जित्नेको संख्या १४ सय ७५ पुगेको र सक्रिय संक्रमितको संख्या दुई सय ३३ रहेको डा. तिवारीले बताए ।

https://www.nayapatrikadaily.com/news-details/47310/2020-07-15

तपाईको प्रतिक्रिया