रित्तिदै जुम्लाका क्वारेन्टिन


जुम्ला ः यहाँका स्थानीय तहमा रहेका क्वारेन्टिन रित्तिदै गएका छन् । एक ताका एकै स्थानीय तहमा ५÷६ सय नागरिक बस्दै आएपनि अहिले यहाँका क्वारेन्टिन रित्तिदै गएका हुन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले जिल्लाभर ६ जना नागरिक मात्र क्वारेन्टिनमा बसेका छन् । पातारासी गाउँपालिकामा दुई जना पुरुष मात्र क्वारेन्टिनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । त्यसैगरी तातोपानी गाउँपालिका एक जना महिला र तीन जना पुरुष क्वारेन्टिनमा बसेका छन् ।
यहाँका एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ८ सय बेडका क्वारेन्टिनमा बसेर १४ दिनपछि दुई हजार ७०९ जना घर फर्किएको तथ्यांक रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । भारत तथा तेस्रो मुलुक र नेपाल भित्रकै विभिन्न जिल्लाबाट लकडाउन अवधिमा १२ हजार १२९ जना नागरिक जिल्ला भित्रिएका हुन् ।
जिल्ला भित्रिने मध्ये ४ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण मध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताउनुभयो । उहाँले भन्नुभयो “कोरोना संक्रमित मध्ये ५४ जना निको भएर घर फर्केका छन् भने १५ जना प्रतिष्ठानको आइसोलेसनमा रहेका छन् ।”
त्यसैगरी ४७९ जना नागरिकको आरडिटि परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस