
जुम्ला ः कनकासुन्दरी गाउँपालिका – ४ का ३५ वर्षीय ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुर शाहीले कुटपिट गरी हत्या गरेका हुन् ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुर शाहीले आफ्नै बुवाको कुटपिट गरेर साउन ११ गते राती हत्या गरेको बताए । छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटना पछि घाइते भएका शाहीलाई उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यू भएको र शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको छ ।
यसैगरी छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवाराज भट्टराई सहितको टोली कनकासुन्दरीको घटना स्थल चौकीमा गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतक शाहीको टाउको, आखा र कोखामा चोटपटक लागेको छ । मृतक शाही पूर्व नेपाल प्रहरीका असई भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।