दुई जनप्रतिनिधिलाई उपलव्ध गराएर जुम्लामा पनि राष्ट्रिय परिचय वितरण कार्य शुरु


जुम्ला ः जिल्ला प्रशासन कार्यालय जुम्लाले राष्ट्रिय परिचय पत्र वितरण कार्य शुरु भएको छ । प्रशासन शुक्रबार पहिलो पटक जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवाललाई परिचय पत्र दिएर औपचारिक रुपमा परिचय वितरण कार्य शुभारम्भ गरेको हो । प्रतिनिधि सभा सांसद गजेन्द्रबहादुर महतको उपस्थितिमा परिचय पत्र वितरणको थालनी गरेको हो ।
अहिले आधुनिक युग हो । जुम्ला पनि आधुनिकिकरण हुदै छ । डाटा राख्न उपकरण रिडेबल नै चाहिन्छ, सांसद महतले भने, ‘प्रविधि पछ्याउँदै हरेक व्यक्तिको तथ्यांकलाई व्यवस्थापन गर्न लागेको प्रति आभारी नै छौँ ।’ सांसदमा पनि राष्ट्रिय परिचय पत्र र छपाईका बारेमा निकै छलफल चल्यो । राष्ट्रिय परिचय पत्र निकै प्रभावकारी भएको सांसद महतले बताए । उनले भने “आगामी दिनमा सबै नागरिकले राष्ट्रिय परिचय पत्र पाउनेछन् । परिचय पत्रको सदुपयोग गर्नेछन् । एउटै कार्डले धेरै काम गर्ने छ । हरेक कामकाज गर्न सहज हुनेछ ।”
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नागरिकको अभिलेखलाई सरकारले डिजिट प्रविधिमैत्री बनाउने थालेकोले राष्ट्रिय परिचय पत्रको अवधारणा आएको बताए । अब सबै कागजपत्रलाई एउटै (कार्ड) चिप्समा ल्याउन खोज्दैछौँ । कागजपत्र हराउने र पानीमा भिज्ने संभावना पनि हुदैन । हराएको खण्डमा फेरी निकाल्न सकिन्छ । प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘यो कार्यले नागरिकको व्यक्तिगत विवरण सुरक्षित हुनेछ । अपराध अनुसन्धानमा सघाउ पुर्याउनेछ । विद्युतीय शासन प्रक्रिया कार्यन्वयनमा ल्याउन मद्धत मिल्ने देखिन्छ ।’
पहिलो पटक समन्वय प्रमुख र नगरपालिका प्रमुखलाई प्रदान गरिएको भन्दै आइतबारदेखि सर्वसाधारणलाई पनि राष्ट्रिय परिचय पत्र उपलब्ध गराईनेछ । जुम्लामा एक हजार ८ सय जनाको विवरण संकलन भएकोमा ४ सय ५० जनाको परिचय पत्र आइसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । उनले भने, ‘यहाँबाट संकलित विवरण पठाइसकिएको छ । छापिसकेको पनि जानकारी आइसकेको छ । तर ल्याउन असहज भइरहेकोले विस्तारै छापिएको सबै परिचय पत्र आएपछि वितरण गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस