शुरु भयो तिला गाउँपालिकाको मानेचौरमा आलु भण्डारण १० मेट्रिक टन क्षमताको रष्टिक स्टोर निर्माण


मानदत्त रावल ः जुम्ला

जुम्लाको तिला गाउँपालिका–६, ७, ८, ९ नं वडा हालसम्म सडक सञ्जालमा जोडिएका छैनन् । स्थानीय तहले ती ठाउँमा ग्रामीण सडक निर्माण गरे पनि तिलानदीमा पक्की पुल निर्माण नहुँदा सडक सञ्जालमा नजोडिएको हो ।

वडाध्यक्ष सन्तवीर रावतले भन्नुभयो, “अहिले पनि यहाँका नागरिक पिठ्युमै बोकेर दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्री ढुवानी गर्न बाध्य छन् । यस क्षेत्र आलु, मकै र सिमीलगायत कोशेबालीको उर्वरभूमि हो ।” तिला–९ मानेचौरमा आलु भण्डारण गर्ने चिस्यान घर (रष्टिक स्टोर) निर्माण गर्न थालिको छ । मौसममा आलुको मूल्य नपाइने भएकाले बेमौसममा बिक्री वितरण गर्न चिस्यान घर निर्माणको थालनी गरिएको उहाँले बताउनुभयो । करिव रु ३३ लाख लागतमा १० मेट्रिक टन क्षमताको चिस्यान घर दातृ संस्थाको लगानी र साझेदारीमा निर्माण थालनी गरिएको हो ।

साझेदारी सहयोग केन्द्र (पेस नेपाल) का अध्यक्ष किशोर न्यौपानेका अनुसार गाउँपालिका र स्थानीयवासीको मागका आधारमा चिस्यान घर निर्माणको काम भइरहेको छ । विशेषगरी यस क्षेत्र आलु र मकै उत्पादनको उर्वरभूमि हो । यहाँ उत्पादित वस्तुको बजारीकरणको समस्या भएकाले अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको रु ३३ लाख आर्थिक सहयोगमा १० मेट्रिक टन क्षमताको चिस्यान घर निर्माणको काम शुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आलु उत्पादन हुने सिजनमा सबै कृषकले एकैपटक बजारमा लैजाने भएकाले मूल्य राम्रो नपाइने र खेर जाने हुँदा भण्डारण गरेर बेमौसममा बिक्री वितरण गर्दा राम्रो मूल्यमा बिक्री गरेर लाभ लिउन् भन्ने उद्देश्यका साथ आलु भण्डारण चिस्यान घर निर्माण गर्न थालिएको हो ।”

कृषकलाई बोका र थुमा वितरण

हिमा–६ महावैपाथरखोला गाउँका उम्म रावतले उन्नतजातको बोका पाउनुभयो । स्थानीय जातको भेडा पालिरहेका उहाँलाई उन्नतजातको भेडापालन गर्ने धोको थियो । अहिले उहाँको इन्छा पूरा भएको छ । उहाँले भन्नुभयो, “भेडापालनलाई पनि उन्नत बनाउँदै लैजानु अहिलेको टड्कारो आवश्यकता हो । व्यावसायिकरूपमा गरिने उन्नतजातको भेडापालनले मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”

उम्म रावतजस्तै जिल्लाका तीन स्थानीय तहका आठ किसानले उन्नतजातको बोका र थुमा पाएका छन् । भेडाबाख्रा अनुसन्धान केन्द्र गुठीचौरमा लामो समयदेखि पालिरहेका अष्ट्रेलियन जातका भेडा तथा बोका किसानलाई उपलब्ध गराइएको हो । जिल्लाको तातोपानी गाउँपालिकाका दुई, हिमाका एक र तिलाका पाँच किसानलाई बोका र थुमा दिइएको हो ।

भेडापालनले किसानलाई फाइदा हुने स्थानीयवासी बताउँछन् । यो एक भेडा एक क्विन्टलसम्मको हुन्छ । मासु बेच्दा पनि राम्रो आम्दानी हुन्छ । ऊन पनि स्थानीय जातको भेडाभन्दा दोब्बर नै हुन्छ । ऊनबाट विभिन्न सामग्री बनाउन सकिने अवस्था रहन्छ । जुम्लाको वातावरणमा लामो समयदेखि पालन भइरहेकाले किसानलाई बोका र थुमा दिइएको हो ।

बोका र थुमा गरेर झण्डै रु पाँच लाखमा खरिद गरिएको हो । अनुकूलन कोष, वन तथा वातवरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पेस नेपालद्वारा सञ्चालित क्याप्स कर्णाली परियोजनाले किसानलाई उन्नतजातका भेडा उपलब्ध गराएको हो । जुम्ला भेडापालनमा प्रचुर सम्भावना बोकेको क्षेत्र हो । तर परम्परागत भेडापालनले खासै उपलब्धि भएन । किसान भीमबहादुर रावतले भन्नुभयो, “उन्नतजातको भेडापालनले किसानको जीवनशैली परिवर्तन गर्न सक्छ । पछिल्लो समयमा उन्नतजातको भेडापालनप्रति किसान आकर्षित भइरहेका छन् ।” दशैं तिहारमा उन्नतजातको भेडाको माग पनि तीव्र हुन्छ । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकाका ६० वटै वडामा भेडापालन भइरहेको छ । रासस

तपाईको प्रतिक्रिया