जुम्लाका आठै स्थानीय तहमा ५०/५० बेडको आइसोलेसन


जुम्ला । जुम्लाका एक नगरपालिका सहित ७ वटा गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण तिब्र रुपमा भईरहेका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएपछि लक्षण देखिएका बाहेक सबैलाई पालिकामै व्यवस्थापन गर्न आठै स्थानीयतहमा ५० बेडको आईसोलेसन निर्माण भईरहेको हो ।

जसमा पहिलो यहाँको हिमा गाउँपालिकामा ५० बेडको आइसोलेसन निर्माण भएर संक्रमित बसिसकेका छन् । हिमाको कालिका मावि र भैरब आधारभुत विद्यालयमा गरी ५० बेडको आइसोलेन तयार भएर संक्रमित राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । हिमामा दुईदिनमा ६३ जना संक्रमित भेटिएपछि ९ जनालाई प्रतिष्ठानमा र बाँकीलाई हिमामै राखिएको हो ।

उहाँले भन्नुभयो,“पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दा सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । एक हप्ताभित्रै जुम्लामा करिब ७३ जना संक्रमित भएका छन् । सबैलाई प्रतिष्ठानको आईसोलेसनमा ल्याउनु भन्दा लक्षण देखिएका बाहेक अन्यलाई सम्बन्धीत स्थानीय तहमै राख्दा संक्रमण कम हुने निर्णयका साथ आठै तहमा ५०÷५० बेडको आईसोलन तयार भईरहेका छन् ।”

सोहि क्रममा यहाँको तातोपानी गाउँपालिकाले पनि ५ लाखको लागतमा हिमशिखर माविमा ५० वेडका आइसोलेसन तयार गरेको छ । ५ वटा शौचालय, खानेपानी धारा तथा फलामको बेड तयार भएको पालिकाका प्रशासन प्रमुख अंगराज डाँगीले जानकारी दिनुभयो । अपरझट संक्रमित भईहाले पनि पालिकामै राख्न समस्या नरहेको र पुर्ण तयारीमा रहेको उनको भनाई छ । आईसोलेसन व्यवस्थापन तथा औषधी उपचारका लागि आएको ९ लाख २० हजार मध्य पुर्वाधार व्यवस्थापनमा ५ लाख खर्च भएको ४ लाख बाँकी रहेको डाँगीको भनाई छ ।

उता सिंजा गाउँपालिकका अध्यक्ष देवलसिंह रावल भन्छन, “सिंजामा पनि ५० बेडको आर्ईसोलेसन बनाउने अन्तिम तयारी पुरा भएको छ । सामाग्री बाहिरबाट ल्याएका थियौ । तर कर्णाली राजमार्ग अबरुद्ध हुँदा सामान आएको छैन् । तर समस्या भईहालेमा क्वारेन्टाईनका सामानलाई प्रयोग गरी व्यवस्थापन गर्ने छौ ।”

साथै कनकासुन्दरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विपिन अधिकारीले कोटघर स्वास्थ्यचौकीमा २५ र हाटसिंजामा २५ गरी ५० बेडको आइसोलेन तयारी भईरहेको बताउनुभयो । सदरमुकामबाट मंगलबारनै सामान पठाइसकिएको छ भने, यता पातारासी गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकामा पनि आईसोलसेन बेड निर्माण भईरहेको प्रशासनले जनाएको छ ।

मंगलबार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सिंजा क्षेत्रमा आईसोलेसनको व्यवस्थापनका लागि अनुगमन निरीक्षण गर्न टोली गएको छ । स्थानीयतहमै आईसोलेसन व्यवस्थापन गर्न तथा संक्रमण फैलावटलाई रोक्न नागरिक सचेत रहन आग्रह गर्नका लागि पनि टोली गाउँमा गएको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले बताउनुभयो । उहाँका अनुसार सबै संक्रमित प्रतिष्ठानमा ल्याउँदा संक्रमण झनै बढ्छ । त्यसैले कोरोनाको लक्षण देखिएकालाई मात्र प्रतिष्ठानमा लिने बाँकीलाइ स्थानीयतहमै राख्दा संक्रमण कम हुन्छ ।

सहजै रुपमा चिकित्सक पुग्न सक्ने, एम्बुलेन्स पुग्न सक्ने र सुरक्षाका हिसावले अनुकुल क्षेत्रमा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिनुभयो । कोरोना संक्रमित देखिएसंगै जुम्लामा लकडाउन निकै कडा पारिएको छ । स्थानीय तहमा १० बेडको आइसोलेसन अनिवार्य हुनु पर्ने भएपनि जुम्लामा ५० बेडको आइसोलेसन बनाउन थालिएको हो ।

सागर परियार

तपाईको प्रतिक्रिया