छोरालाई कलेजो दान दिने महान बाबुको जीवनमा आधारित ‘जिन्दगी’ सार्वजानिक(भिडियो सहित)

जुम्ला । दुईमहिने शिशु शिवांश अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक जीवन कथामा आधारित अत्यन्तै मार्मिक गीत आइतबार ‘जिन्दगी’ सार्वजनिक भएको छ। गायक निशान भट्टराईको सुमधुर आवाज रहेको गीतमा गायिका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ। उक्त गीतमा संगीत संयोजन महाराज थापाले गरेका छन्।

बैतडीस्थित रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीका छोरा शिवांशको जन्मेको १४ औँ दिनदेखि कलेजोमा खराबी आई त्रि वि शिक्षण अस्पताल काठमाडौंको १ महिना बढी आइसियूको उपचारपछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो। चेन्नाईको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा अवस्थीले छोरालाई कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो।

घटनाबारे थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायिका सापकोटाले पहल तथा अगुवाइ गरेका थिए। ‘महेश,गीता दम्पतीले सन्तान प्राप्तिको लागि गरेको सघंर्ष सम्झिँदा निकै कहाली लाग्दो छ,सोही वास्तविकतालाई मैले आफैँ शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ ,समाजमा छोराछोरीप्रति धेरै विकृतिहरू सुन्न हेर्न सकिन्छ तर आफनो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाई यो गीतबाट झल्काउन खोजेकी छु’, गायिका सापकोटा भन्छिन्, ‘मैले यस्तो वास्तविक कथामा आधारित भावुक गीतमा पहिलो पटक छोटो समयमा शब्द,संगीत गर्न सफल भएकोमा खुसी पनि छु।’

‘जिन्दगी’ गीतलाई निर्देशक युवराज वाइबाले छायांकन गरेका हुन्। निर्देशक वाइबा भन्छन्, ‘ कलेजो काटेर दिने ती महान् पिताको वास्तविक घटनालाई भिडियोमार्फत तपाईंहरू माझ लिएका हौ,अहिलेसम्म धेरै काम गरियो तर यो हाम्रो लागि फरक काम हो, सधैँभरि पैसा मात्र पनि हेर्नुहुँदैन भन्ने हिसाबले अवस्थी परिवारलाई थोरै भएपनि खुसी दिनको लागि हामी कलाकारहरूले कोरोनाको कहरको बेला विभिन्न चुनौती मोल्दै, निःशुल्क यो गित तयार पारेका हौं।’

भिडियोमा निर्मल न्यौपाने र रेखा घिमिरेले निकै भावुक बनाउने अभिनय गरेका छन्। ‘जिन्दगी’ युट्युबमा राखेपछि आउने रोयल्टी शिवांश अवस्थीको उपचारमा खर्च गर्ने कलाकारहरूले बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस