
जुम्ला ।
चिकित्सा शिक्षा सुधार संगै कर्णाली विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधार सहित एमविविएस सहितका चिकित्सा क्षेत्रका माग गर्दै पाँच दिन देखी अनसन बस्दै आएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुदै गएको छ । डा. केसी १९ औ सत्याग्रह तथा अनसनको आज पाँचौ दिन भयो । उहाँको अवस्था बिग्रदै गएकाले शुचेच्छुक तथा सहयोगीहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
डा. केसीको मुटुको धडकन बढ्नु, श्वास प्रश्वासमा समस्या देखी विभिन्न समस्या हुन थालेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
जुम्ला सदरमुकामको चन्दननाथ नगरपालिका ६ रानीचौरमा रहेको धर्मशालामा अनसन शुरु गर्नुभएको डा. केसीको जीवन रक्षाका लागि भन्दै राजनैतिकदलहरुले समेत समर्थन गर्ने काम शुरु भएको छ । अनसन स्थलमा हस्ताक्षर अभियान समेत शुरु गरिएको समर्थक प्रज्वल महतले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेस सहितका राजनैतिकदलहरु समेत अनस स्थलमै आएर समर्थन गर्ने काम शुरु भएको छ ।
प्रतिष्ठानले खटायो चिकित्सकीय टोली
डा. केसीको अवस्था बिग्रदै गएपछि निगरानीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले अनसन स्थलमा चिकित्सकको टोली पठाएको छ । प्रतिष्ठानले विशेषज्ञ डा. प्रविण गिरी, डा. अनुपमंगल समाल सहित स्वास्थ्यकर्मीहरुको टोली पठाएको हो । स्वास्थ्यकर्मीहरुले डा. केसीेको स्वास्थ्य अवस्थाको वारेमा निगरानी गरिरहेको छ । पाँचौ दिन डा. केसीको मुटुको चाल बढिरहेकोे, श्वास प्रश्वास फेर्न कठिन तथा पिसावको मात्रा घट्न थालेको अनसन स्थलमा रहेका डा. गिरीले जानकारी दिनुभयो ।
यसैगरी आज देखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले डा. केसीको स्वास्थ्य अवस्थाको वारेमा लिखित जानकारी दिने उहाँले जानकारी दिनुभयो । डा. केसीको १९ औ अनसन जुम्लामा दोस्रो पटकको अनसन हो ।
समर्थनमा हस्ताक्षरण संकलन
डा. केसीका मागहरु र सत्याग्रहको बिषयमा सर्मथकहरुले हस्ताक्षर अभियान समेत शुरु गरेका छन् । अनसन स्थलमा व्यानरमा केसीका माग ठिक भएको भन्दै यूवाहरुले हस्ताक्षर अभियान शुरु गरेका छन् ।
बि.सं २०७५ साल असार १५ गतेदेखी १५ औ अनसन जुम्लाको कवर्डहलबाट अनसन शुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि चिकित्सकले बोकेरै अस्पतला पुरयाएका थिए । २० औ दिन सम्म अस्पतालमा बसेका डा. केसीको अवस्था गम्भिर रुपमा बिग्रेपछि २०७५ असार ३ गते सरकारले हेलिकोप्टर मार्फत डाक्टर केसीलाई काठमाण्डौ पुरयाएको थियो ।