
जुम्ला ः चन्दननाथ नगरपालिका– २ मा होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिला निको भएसँगै जुम्ला पुनः कोरोना संक्रमण शून्य जिल्ला भएको छ ।
पहिलोपटक १२ साउनमा सबै संक्रमित निको भएपछि कोरानामुक्त भएको थियो । दोस्रोपटक पुनः जुम्लामा सबै निको भएर संक्रमण शून्य जिल्ला बनेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।
लकडाउन भएयता यहाँका आठ स्थानीय तहका नौ हजार सात सय ३५ जना नागरिकको स्वाब परीक्षण गर्दा दुई सय २० जनामा संक्रमण देखिएको थियो । संक्रमण देखिएका सबै अहिले निको भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अब लक्षण देखिए मात्र परीक्षण
संघीय सरकारको निर्देशनअनुसार अब लक्षण देखिए मात्र कोरोना भाइरसको परीक्षण गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
लक्षण देखिएकालाई निःशुल्क र लक्षण नदेखिएकाले गर्न चाहे शुल्क तिरेर परीक्षण गराउन सक्ने थापाले जानकारी दिए ।