कर्णालीको सहुलियत टिकट वितरणको जिम्मा अब एअरलाईन्सलाई


रामचन्द न्यौपाने

डोल्पा ः नेपालगञ्ज विमानस्थल देखि कर्णालीका सम्पुर्ण जिल्लाहरुमा उडान गर्ने विभिन्न एअरलाईन्सको सहुलियत टिकट बितरणको जिम्मा एअरलाईन्स आफैँले लिने भएका छन् ।

बर्षौदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरीलाई रोक्न सम्बन्धित एअरलाईन्सलाई नै बितरण गर्न निर्देशन दिईएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रताबबाबु तिवारीले बताए ।उनका अनुसार यो भन्दा अगाडि सम्बन्धित जिल्लाका मान्छेहरुद्वारा गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट वितरणको जिम्मा दिने गर्दा टिकट बितरणमा मनपरी भएको बताए ।

निजी विमान कम्पनीहरुलाई सहुलियत उडानमा बिरामी, अशक्त, अपाङ्ग र बिद्यार्थीलाई बिशेष प्राथामिकतामा राखेर टिकट बितरण गर्न समेत नागरिक उड्डयनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।

प्रमुख तिवारीले सिधै विमान कम्पनीको कार्यालयमा गएर सहुलियत टिकट लिनको लागि यात्रुहरुलाई आग्रह गरे । कर्णालीमा तारा, गोमा र सिता एअरलाईन्सले हप्तामा एउटा सहुलियत उडान गर्दै आएका छन् भने नेपाल एअरलाईन्सले भने एउटा विमानस्थलमा हप्तामा दुईवटा उडान गर्दै आएको छ ।

प्रायःनिजी विमान कम्पनीहरुले चार्टर उडानलाई प्राथामिकतामा राखेर सहुलियत उडानमा ढिलाई गर्ने पाईएकाले हप्तामा एउटा मात्र गरिने सहुलियत उडानलाई प्राथामिकतामा राखेर उडान गर्न नेपाल बायुसेवा निगमले निजी विमान कम्पनीलाई आग्रह समेत गरको छ ।

नेपालगञ्ज देखि हुने चार्टर उडानमा दुईतर्फी भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फी भाडा मात्रै लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया