
‘साप्ताहिक मञ्च’बाट पत्रकारिता सुरु गर्दा, चल्तीका दुई वाक्य मैले पनि कण्ठस्थ गरेँ। पहिलो– पत्रकारिता समाजको ऐना हो। दोस्रो– ‘साप्ताहिक मञ्च’ राष्ट्रको सम्पत्ति हो। आज त्यो सम्झेर हाँसो उठ्छ, रमाइलो लाग्छ।
पत्रकारिताको रिपोर्टिङ पाटो समाजको ऐना होइन, क्यामेरा मात्र हो। ऐनामा त्यो सब देखिन्छ जो ऐनाको अगाडि हुन्छ। ऐना भनेको ‘साक्षीभाव’को, प्रतीक हो। ऐनाको आफ्नो कुनै निजी ‘चयन’ हुँदैन। अगाडि जे पर्यो, त्यो देखाउँछ ऐनाले।
क्यामेरा त्यस्तो होइन। क्यामेराले त्यति मात्र देख्छ, जति त्यसलाई देखाइन्छ। गहिरोगरी हेरे थाहा हुन्छ, पत्रकारिता ऐना होइन, क्यामेरा हो। कुन ठाउँतिर क्यामेरा फर्काउने वा नफर्काउने ? भन्ने निर्णय पत्रकार वा सम्पादकले गरिरहेको हुन्छ। त्यस अर्थमा पत्रकारिता– समाजको ऐना होइन, क्यामेरा मात्र हो।
तीसौं वर्षअघि, हाम्रा एक अग्रज यो पनि भन्थे, ‘हाम्रो साप्ताहिक मञ्च राष्ट्रको सम्पत्ति हो।’ यसो भनिरहँदा उनी निकै सिरियस भएर बोलिरहेका हुन्थे। त्यसताक, उनी पनि, हामी पनि फुङ्गा थियौं। मलाई लाग्थ्यो, फुङ्गापन नै हाम्रो श्रीसम्पत्ति भएपछि, के–को भागबन्डाको कचकच ? शून्यको जति भाग लगाए पनि के फरक पर्छ र ? सम्पत्ति राष्ट्रकै नाममा नामसारी गरे भइगयो नि ! आखिर, बाँड्नुपर्ने होइन।
आज स्थिति त्यस्तो होइन। आजकल हामी वैश्य युगमा छौं। वैश्य युग अर्थात् बजारको युग। यसबारे मैले यही स्थानमा गत शनिबार अलि विस्तृतमा लेखिसकेकाले यो टिप्पणी त्यसैको निरन्तरतामा पढ्न अनुरोध छ।
अपवादबाहेक, आज समाजका हरेक अंग ‘वैश्य युग’का सह–उत्पादन भएका छन्। यो युगमा चप्पल कारखाना चलाउनु र मिडिया सामग्री उत्पादन गर्ने फ्याक्ट्री चलाउनु, लगभग एकै कुरा भएको छ। यस अर्थमा चाहिँ सञ्चार गृहहरू पनि राष्ट्रका त्यत्तिकै सम्पत्ति हुन्, जति हाम्रा चप्पल कारखानाहरू वा अन्य कारखाना हुन्। जुत्ता–चप्पल कारखानाका उत्पादन र सञ्चारगृहका उत्पादनहरूको आ–आफ्नै महत्व र प्रभाव क्षेत्र छ।
व्यावहारिक रूपमा चाहिँ, कुनै पनि कारखाना राष्ट्रको सम्पत्ति कहलिनको निम्ति त्यो कारखानाको सेयर स्टक बजारमा सर्वसाधारण जो कोहीले खरिद–बिक्री गर्न पाउने हैसियतमा हुनुपर्छ भन्ने सामान्य ज्ञानको विषय हो।
मिडिया शब्दको उत्पत्ति ल्याटिन भाषाको आधार शब्दबाट हुन्छ। जसको अर्थ हुन्छ– बीचको तह। मिडियम याने माध्यम। पुरानो समयमा छापा, रेडियो र टेलिभिजन संस्थाहरूसँग ‘मिडियम’को एकाधिकार थियो। अब त्यो स्थिति रहेन। हुन त अहिले पनि छापा, रेडियो र टेलिभिजन चलाउने शक्तिशाली सञ्चारगृहको संख्या संसारमा यथेष्ट छ। तर, जसरी आजको विश्व एकध्रुवीय रहेन, त्यसैगरी सञ्चारगृहहरूको प्रभाव पनि बहु–केन्द्रमा विभाजित भएको छ, संसारभरि।
जब पत्रकार वकिलको झैं एकोहोरो पैरवी गर्न थाल्छ तब ऊ पत्रकार रहँदैन। साक्षीभावको अनुपस्थितिमा मान्छे विश्लेषक हुन सक्छ, पत्रकार शब्दको हकदार हुँदैन। ऊ वकिलमा रूपान्तरित हुन्छ।
बढ्दो जनसंख्या, फरक–फरक स्वार्थ र अलग–अलग स्वादका मान्छेले भरिएको संसारमा यसो हुनु स्वाभाविक नै थियो। त्यसैले आजको पाठक, दर्शक र श्रोतालाई लामो समयसम्म अल्मल्याउन त्यति सजिलो छैन, जति हिजोका दिनमा थियो।
आजको सचेत पाठकले एक सीमापछि, शंका गर्न थाल्छ, जसलाई उसले पत्रकार ठानेको छ, कतै त्यो मान्छे पत्रकारको साटो वकिल त होइन ?
वकिल आफैंमा सम्मानित पेसा हो तर जब पत्रकार वकिलको झैं एकोहोरो पैरवी गर्न थाल्छ तब ऊ पत्रकार रहँदैन। न्यूनतम साक्षीभावको अनुपस्थितिमा मान्छे विश्लेषक हुन सक्छ, एक्टिभिस्ट हुनसक्छ, पत्रकार शब्दको हकदार हुँदैन। ऊ वकिलमा रूपान्तरित हुन्छ। अथवा हरेक विषयमा ‘मिडिया इजलास’ खडा गरेर फैसला दिएर ‘धर्मा्धिकारी’ बन्ने रहर उसमा जाग्न सक्छ। समाजका कुरीति र विसंगति पर्दाफास गर्नु एउटा कुरा हो, आफैंलाई ‘धर्मा्धिकारी’ ठान्नु नितान्त भिन्न कुरा हो। पहिलो कर्म पत्रकारको कर्तव्य हो, दोस्रो क्षेत्राधिकार उल्लंघन हो। यी दुईबीचको सीमारेखाको निर्धारण ‘विवेक’ले गर्छ।
सोरेन किर्कगार्डले उहिल्यै भविष्यवाणी गरेका थिए, ‘अध्ययन, विचार र सिर्जनात्मकताको स्वतन्त्रता हासिल नगरीकनै स्वच्छन्द वाक स्वतन्त्रताको खोजीले समाजमा धेरैखाले जटिलता उत्पन्न गर्नेछ।’ आज पत्रकारिता, सोसल मिडिया आदि विषयमा आलोचनात्मक छलफल विश्वव्यापी स्तरमा सुरुवात हुनु पनि यही जटिलताको परिणाम हो।
के हामी अर्थहीन, सारहीन र सौन्दर्यहीन राजनीतिक तर्क–वितर्क र कुतर्कको भागबाट दुई–चार गाँस काटेर समाजका सकारात्मक पक्षहरू उजागर हुने पत्रकारिता पनि गर्न सक्छौं ? वा गर्ने क्षमता राख्छौं ?
कर्तव्यबिनाको अधिकार, उत्पादनबिनाको वितरण, योग्यताबिनाको आकांक्षामा आधारित पत्रकारिताले हामीलाई चेतनाको नाममा उत्तेजना त यथेष्ट दिन सक्छ तर आमजनताको मुखमा माड लगाउने काम कदापि गर्न सक्दैन। एसियाको दोस्रो गरिब राष्ट्रको हाम्रो हैसियत पनि कदापि बदल्न सक्दैन।
‘अध्ययन, विचार र सिर्जनात्मकताको स्वतन्त्रता हासिल नगरीकनै स्वच्छन्द वाक स्वतन्त्रताको खोजीले समाजमा धेरैखाले जटिलता उत्पन्न गर्नेछ’
नेपाल किन बनेन ? भन्ने प्रश्नले वैश्य युगमा अर्थ राख्दैन। त्यसबारे यथेष्ट बुद्धिविलास भई नै सकेको छ, विगतमा। ‘यसरी बन्छ नेपाल !’ भन्ने जवाफ मात्र चिन्छ वैश्य युगले। जवाफ सजिलो छैन। किनभने कुनै पनि मौलिक प्रश्नको, आमजनताले समेत बुझ्ने जीवन्त जवाफ, उधारो ज्ञानबाट सम्भव छैन।
नयाँ जनादेशअनुसार नयाँ सरकार आएको छ। विकास र समृद्धिको कुरा गरेको छ। बाइबलमा एउटा भनाइ छ, ‘पुरानै तौरतरिका र आनिबानी कायमै राखेर, नयाँ नतिजा अपेक्षा गर्नु मूर्खता हो।’
यो चुनौती पत्रकारिताको हकमा पनि त्यत्तिकै लागू हुन्छ।