मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान आजबाट शुरु


काठमान्डौ ः माईती नेपालले मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ जनचेतना अभियान शुरु गरेको छ । ‘हामी सबैको जिम्मेवारी, मानव बेचबिखन बिरुद्ध गरौँ खबरदारी’ भन्ने मुल नाराका साथ आजबाट पश्चिम नेपालको कञ्चनपुरदेखि अभियान शुरु भएको हो ।

७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अभियानको उद्घाटन गरेका हुन । अभियानको उद्घाटन गर्दै मन्त्री भट्टले ७ नम्बर प्रदेशलाई मानव बेचबिखन सुन्यतामा झार्ने घोषणा गरेका छन् । कानुन कडा बनाएर भएपनि बेचबिखन न्यूनिकरण गर्ने उनको भनाई छ ।

‘बेचबिखनमा संलग्न कुनैपनि व्यक्तिलाई उत्मुक्ति दिदैन्, ‘मुख्यमन्त्री भट्टले भने, ‘दोषिलाई कानुनको दायरामा ल्याई छाड्छौँ ।’

मिलोमतोमा हुने मानव बेचबिखनमा अपराध क्षम्य नहुने बताउदै मुख्य मन्त्री भट्टले मानव बेचबिखन रोक्नका लागि सबैले प्रण गर्नुपर्नेमा जोडदिए ।

जनचेतनाको विकास नहुन्जेलसम्म बेचबिखनका घटना भईरहने, त्यसमा प्रशासकिय निकायले सकृया घट्दै जाने भएकाले सचेतनाका कार्यक्रम संचालन गरिने बताए ।

मानव बेचबिखन न्यूनिकरणका लागि हेल्प डेस्क मार्फत प्रदेश सरकारले योजना बनाएर अघि बढ्ने उनले बताए ।

मानव बेचबिखन न्यूनिकरण गर्ने उदेश्यका साथ मेची–काली अभियान संचालन गरिएको माईती नेपालले जनाएको छ ।

माईती नेपालका प्रशासकिय अधिकृत हस्त बहादुर खडकाले मानव बेचबिखन रोक्नका लागि देशव्यापी सचेतनामुलक अभियान थालेको बताए ।

उनका अनुसार महाकालीदेखि मेचीसम्म ७ दिन विभिन्न ठाउँमा सचेतनामुलक कार्यक्रम संचालन गरिने छन् ।

विभिन्न प्रलोभनमा पारेर पछिल्ला बर्षहरुमा मानव बेचबिखन पनि लागु औषध, हातहतियार पछि तेस्रो अपराधका रुपमा मानव बेचबिखन मौलाउदै गएकाले जनचेतनाका माध्यमबाट बेचबिखन रोक्नका लागि अभियान शुरुवात गरिएको बताए ।

मानव बेचबिखन तथा ओसारपसारका नयाँ नयाँ स्वरुप बाहना, आश्वासन, प्रलोभनमा पारि मध्यपूर्व, पूर्वी एशिया, सुडान, खाडी राष्ट्र तथा यूरोप,अफ्रिकी देशमा पु(याउने गरेको उनले बताए ।

‘झूठो विवाहको बहानामा चीन कोरिया हुदै विश्वमा नै आन्तरिक सीमापार र समुन्द्रपार हुदै दिन दुई गुना रात चौगुनाको रुपमा बुद्धि हुदै गईरहेको छ , ‘उनले भने, ‘त्यसलाई रोक्न सबैले चनाखो हुनुपर्छ ।’

उनले बेचबिखनको मुख्य उद्देश्य यौन शोषण, बेश्यावृत्ति रहेको बताए । जबरजस्ती, धोका, छलकपट, झुक्यानमा पारेर, जालसाँझ गरेर, बेहोस पारी, अपहरण गरेर, जोरजुलुममा पारेर, शक्तिको दुरुपयोग भईरहेको विषय चित्रण गरे ।

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले खुला सीमा नाकाका कारण कञ्चनपुर उच्च जोखिममा रहेको बताईन् ।

बेचबिखन रोक्नका लागि अभियान थालिएको बताउदै उनले ग्रामीण भेग बस्तीबस्तीमा सचेतनाका कार्यक्रम संचालनमा जोडदिईन् । उनले हरेक दिन ५ देखि ७ जना भारत तर्फ लग्ने गरेको बताईन् ।

उनले माइती नेपालले स्थापनाको २५ बर्षसम्ममा ३६ हजार ४५ जना जोखिममा परेका महिला तथा बालबालिकालाई उद्दार गरिएको बताए । १८ हजार ५५ लाई कानुनी उपचार, १० हजार ६ सय ६५ जना घरेलु हिंसापीडीतको पुर्न्मिलन गरिएको छ ।

बलात्कार मुद्दा र मानव बेचबिखन मुद्दाका एक हजार ५ सय ७१ जना पीडकलाई कानुनी कारवाही गरी जेल चलान गरिएको छ ।

माईती नेपाल कञ्चनपुरका संयोजक भट्टले मुलुकमा गणतन्त्र स्थापना संगै प्रदेश सरकार गठन र नेपालको संविधान २०७२ को धारा २९ शोषण बिरुद्धको हक अन्तर्गत उपधारा (३) मा कसैलाई पनि बेचबिखन गर्न, दास वा बाँधा बनाउन पाइने छैन भन्ने स्पष्ट व्यवस्था छ ।

त्यस्तै मानव बेचबिखन सम्बन्धी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, नियमावली २०६५ लगायत अन्य धेरै कानुन संगै स्थानीय तहलाई अझ बढी जिम्मेवारी दिएपनि मानव बेचबिखन नरोकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । फागुन १७ गते मेची पुगेर अभियानको समापन गरिने छ ।

तपाईको प्रतिक्रिया