संकटमा सिंजा सभ्यता र ‘कर्णाली प्रदेश’


रामसिंह रावल

सिन्जाहाट बाँझी गयो, कोटमा ढँटेला,
विराट बिराइनु भैगो, यै घटिया बेला ।
पाथरनाउली पुरानिगो, पृथ्वीमल वाइगया,
पन्चकोशी रुइनो उमर्‍यो, ज्वाला सेलाई गया ।
जुमलेश्वरका लामाथाडा पैकेलाको सरौं,
यो जुग यैथरै आयो अब कसो गरौं ।

यो कर्णालीको न्याउल्या गीत हो । हर्क गुरुङले आफ्नो किताबमा विषय विविधमा ‘पर्वतीय क्षेत्रको विकास’ आलेखमा लिपिबद्ध गरेका छन् । यस गीतले सिंजा साम्राज्यको वैभव र विरासतको ऐना त देखाउँछ नै, वर्तमान हाम्रो राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक धरातलको चित्रण पनि गर्छ ।
सुर्खेतलाई ‘कर्णाली’ राज्यको राजधानी बनाउने कुटिल चाल चाल्दै कर्णालीका जनतालाई कर्णाली नाम दियौं नि भनी बेकुप बनाउने काम आज माओवादी, कांगे्रस र एमालेहरू ‘प्रदेश नम्बर ६’ को भेलाका नाममा सुर्खेतमा बसेर यो फर्मान जारी गरिरहेका छन् । जसले कर्णालीलाई मगन्तेको पर्याय बनाए, उनीहरू ले नै ‘कर्णाली प्रदेश’ नामाकरण गर्नु अन्यथा होइन । तर आज यस क्षेत्रका नागरिक सजग र जागरुक हुन जरुरी छ ।

आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक रूपमा आफूलाई विगतदेखि वर्तमानसम्म तिरस्कार र बहिस्कारको चपेटामा राखेको मान्ने र महसुुस गर्ने कर्णालीवासीका निम्ती के यो मान्ने हुने आधार हो त ? प्रशासनिक सुगमताको दृष्टिले हेर्दा पनि कर्णालीका पाँच जिल्लाको लागि यो उपयुक्त छैन । सुर्खेतदेखि कर्णालीका जिल्ला र गाउँबस्तीमा पुग्न न्यूनतम १६५ किमिदेखि अधिकतम ६र७ सय किलोमिटर पार गरेर सुर्खेत धाउनुपर्ने देखिन्छ । के यही हो त जनताले खोजेको संघीयता ? यसको आज सर्वमान्य उत्तर दिन कोही तयार भएको देखिँदैन ।

रामसिंह रावल

‘कर्णाली’ आजको वर्तमान विश्व मानचित्रमा गरिब, पछौटेपन, रोग, भोग र परनिर्भरताको पर्यायका रूपमा खडा गरिएको ‘मागी खाने भाँडोे’ हो, जुन कर्णालीको लागि दुभाग्य नै हो । त्यसको जिम्मेवार हाम्रा राज्यसत्ता, राजनीतिक पार्टी र एनजीओरआईएनजीओहरू नै हुन्, कर्णालीको भव्यता र सभ्यतालाई खर्लक्कै कालो पर्दामा लुकाएर जबर्जस्त मगन्ते बनाउने । प्रदेशको नामकरण प्रदेश सभाको दुईतिहाई बहुमतको निर्णयबाट गरिनेछ भनिसकेपछि पनि अहिल्यैै ‘कर्णाली प्रदेश’ नाम राखिहाल्नुको पछाडि कतै नियोजित र सुनियोजित रूपमा यस क्षेत्रको भाषा, संस्कृति र सभ्यताका साथै ऐतिहासिक वैभव र विरासत नामेट गर्ने प्रपञ्चबाट पे्ररित भएको देखिन्छ ।

सिंजाले ऐतिहासिक र राजनीतिक औचित्य त प्रदान गर्छ नै, साथसाथै यसले त्यस क्षेत्रका सभ्यता र संस्कृतिको आत्मसम्मान र गर्वबोधका साथै सम्मान र मर्यादा गराउँछ । ‘प्रदेश नम्बर ६’ को नाम सिंजा या दुल्लु राख्दा प्रभावकारी हुनेछ ।

सुर्खेत उपत्यकामा घना जंगल साल, बयर घारी भएका कारण औलो लाग्ने भएकाले ०२०र२४ साल पहिला त्यहाँ बस्ती थिएन । पछि पहाड दैलेख, दुल्लु, अछाम, जाजरकोट र कर्णालीका पाँच जिल्लाबाट मानिसहरू आएर बसोवास गर्न थाले र विस्तारै बस्ती विस्तार हुँदै आज मध्यपश्चिमकै एक ठूलो सहरको रूपमा सुर्खेत उदाउँदै छ । भौतिक पूर्वाधारको विकासमा पनि यस सहरले निकै फट्को मार्दै गइरहेको छ । यस अर्थमा हाल यस क्षेत्रलाई नै ‘प्रदेश नम्बर ६’ को राज्यको राजधानी बनाउनुपर्ने कुरा उठिरहेको छ, नाम ‘कर्णाली’ राखेर । सतही रूपमा यो कुरा ठिकै मान्न सकिएला, तर समथर भूभाग र ठूला भवन देख्नेबित्तिकै राजधानी बनाउन खोजिहाल्ने घटिया चिन्तन राख्ने हो भने सबै प्रदेशको राजधानी पूर्व–पश्चिम महेन्द्र राजमार्गकै वरिपरि राखे भइहाल्यो नि, किन चाहियो हिमाल र पहाड ? अन्यथा राजनीतिको मूल ध्येय भन्नु नै दुर्गमतालाई सुगमतामा बदल्नु हो भन्ने मान्यताको उपहास गर्नु हो।

यति मात्र कहाँ हो र, हाल संविधान संशोधनको नाममा गरिएको ‘प्रदेश नम्बर ५’ को भाँडभैलो, वितण्डा र ज्यानै लिनेसम्मको व्यक्ति हत्या पनि सहअस्तित्वसहितको ऐतिहासिक वैभव र विरासत प्राप्त गरेको गण्डकी पश्चिमको सभ्यता नै नष्ट गर्ने अभीष्टबाट प्रेरित भएको देखिन्छ । विगतमा भएगरेका गौर र टीकापुर नरसंहारकारी हत्याकाण्डलाई पनि स्वजातीय र सहअस्तित्ववादी संस्कृति र समाजलाई भिडन्त गराई छिन्नभिन्न गराउने प्रपञ्चका रूपमा भएका देखिन्छ ।

सिंजा इतिहासदेखि वर्तमानसम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी हो । त्यसका साथै सिंजा बौद्ध धर्मको संवर्धक र सम्भारक थलो पनि हो भन्ने इतिहासले प्रस्ट पारेको छ । यही विरासतले यो क्षेत्रको जग अडिएको र सिँचित भएको छ, आजपर्यन्त । सुर्खेतको खुलामञ्चमा आज पनि हप्तैपिच्छे देउडा लगााउने गरिन्छ । यस भेगका ज्येष्ठ नागरिकहरू गोलबद्ध भएर हातमा हात र काँधमा काँध जोडेर आपसमा नाचिखेली बाँचिरहेका छन् । अझ भनौँ यस क्षेत्रलाई देउडा संस्कृतिको घेराले बाँधेको छ । सनातनी मष्टो, देउडा, देवी (देउती बजै सुर्खेत), बडीमालिका, काँक्रेविहार (मध्यकालीन खस राज्यको बौद्ध र हिन्दुहरूको अनुपम साझा नमुना) यस्तो संस्कार र संस्कृतिले घेरेको छ, यो क्षेत्रलाई ।

दैलेख जिल्लाको दुल्लु भेकमा शिरस्थान, नाभिस्थान, पादुकास्थान र धुलिश्वर र ढुंगेश्वर गरी पाँच तीर्थस्थलहरू छन् । यिनलाई समष्टिमा पञ्चतीर्थ भन्ने गरिन्छ । मध्यकालमा सिंजा साम्राज्यको शीतकालीन राजधानी दुल्लु र ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजामा थियो, जहाँबाट यहाँको राजनीतिक शासन व्यवस्था व्यस्थित रूपमा चलेको थियो । जुम्ला चन्दननाथको अखण्ड धुनी कथंकदाचित निभिहाल्यो भने दुल्लुको शिरस्थानबाट अग्नि लगेर पुनः धुनी जगाइन्छ आज पनि ।

विगतमा माओवादीले कर्णालीलाई एउटा अलग्गै कथित ‘आत्मनिर्णय’ सहितको कर्णाली संघीय राज्य दिन्छौँ मात्र भनेन, कर्णालीका उत्तरी भेकमा बसोवास गर्ने समुदायलाई ‘भोटे–लामा’ राज्यसमेत दिने कुरा गरेर त्यहाँका जनताका आँखामा छारो छर्ने काम ग¥यो । विगतमा कर्णालीका जनतामाझ ठूला–ठूला भ्रमका सपना बाँडियो । झूटको राजनीति गर्नुको पनि हद हुन्छ । यस्तै–यस्तै भ्रम र आशा जनताबीच बाँडिएकाले नै संविधानसभाबाट संविधान जारी हुनुपूर्व प्रदेश विभाजनको विषयलाई लिएर भएका आन्दोलनका क्रममा सुर्खेतमा तीनजना र कर्णालीको जुम्लामा एकजनाले मृत्युवरण गर्नुपर्‍यो भने सयौंको संख्यामा आन्दोलनकारी अंगभंग भए । त्यसका जिम्मेवार वा अपराधी पहिलो माओवादी र त्यसपछि कांगे्रस र एमाले नै हुन् । त्यसको जिम्मा उनीहरूले नै लिनुपर्ने हुन्छ । साथै भोलि हुने सम्भावित घटनाहरूको पनि ।

देशमा शदीयौँदेखि कायम रहिआएको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव बिथोल्ने र आपसमा नेपाली समाज भिडाउने कामबाहेक गणना गर्नलायक कार्य विगत दुई दसकभित्र हामीले के पो प्राप्त गरेका छौं र ? ‘जनयुद्ध’ को बेला देशका टोल–टोलै र जातैपिच्छै राज्य बाँड्दै हिँड्ने माओवादी र त्यसमा ०६२र६३ पछि आफूहरू पनि पछि परिने भयले उसैको फेर समातेर पछि लाग्ने हुतिहारा र विवेकहीन कांगे्रस र एमालेको नाममा राजनीति गर्नेहरू पनि कम जिम्मेवार कहाँ छन् र !

मगन्ते र दरिद्र चिन्तनका साथै नेपाली जनताले सोच्दै नसोचेकोे संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको मुद्दा देशभित्र पसाएर नेपालीबीच भिडन्त गराएको आम नेपालीमाझ दिउँसोको घामजस्तै छलंगै भइसकेको छ । विदेशी विधर्मीहरूको ‘जुठो’ र ‘कलो’ खाएका नेता, दल र बौद्धिक भाट र भिजिलान्तेहरूको कारणले नै देश लथालिंग र भताभुंग अवस्थामा पुगेको छ । आम जनता र स्वतन्त्र बौद्धिक धारहरूलाई देशमा संघीयता लागू हुन्छ भन्नेमा विश्वास छैन । भइहाले पनि यो टिक्नै सक्दैन भन्दै उनीहरू आक्रोश पोखिरहेका छन् । उनीहरूको मत एकीकृत नेपालको अवधारणा नै नेपाल निर्माणको उपयुक्त विकल्प हो भन्ने रहेको देखिन्छ ।

वरिष्ठ मानवशास्त्री तथा समाजशास्त्री डा. सौभाग्य शाहले २६ भदौ २०६५ को समय साप्ताहिकमा ‘कर्णाली सभ्यताका सम्भावना’ शीर्षकको आलेखमा व्यक्त गरेका छन्, ‘कर्णाली सभ्यता र मध्यकालीन खस राज्यको उद्गमस्थल सिंजा भएकाले यसैबाट नयाँ संघीय राज्यको नाम लिनु सबैभन्दा उपयुक्त देखिन्छ । सिंजाले ऐतिहासिक र राजनीतिक औचित्य त प्रदान गर्छ नै, साथसाथै यसले त्यस क्षेत्रका सभ्यता र संस्कृतिको आत्मसम्मान र गर्वबोधका साथै सम्मान र मर्यादा गराउँछ, जुन अरू नामले गर्न सक्दैन ।’

यसर्थ ‘प्रदेश नम्बर ६’ को नामको विषयमा छलफल गर्दा ‘कर्णाली प्रदेश’ सिफारिस गर्नुभन्दा सिंजा प्रदेशको नाममा वैचारिक बहस चलाउँदै सिंजा प्रदेश राख्दा नै उत्तम हुनेछ । यो हुन्न भने बरु दुल्लु प्रदेश राख्दा पनि हुन्छ । त्यतिमा पनि सहमति नभए सुर्खेतको पुुरानो नाम ‘कालापानी’ (राणाकालमा कसैलाई सजाय दिनुपर्‍यो भने यतै कालको पानी कालापानी पठाइन्थ्यो रे यहाँ औलोको अत्यधिक प्रकोप भएकाले उसको स्वतः मृत्यु हुन्थ्यो भन्ने बूढापाकाको भनाइ छ ।) भन्थे, त्यही ‘कालापानी’ राखे हुन्छ ।

तपाईको प्रतिक्रिया