अनुसन्धानको क्रममा घटनाको समयमा उनी घटनास्थल नजिकै पाइएको र घटनामा संलग्न भएको पुुष्टी गर्ने केही आधार पनि आफूहरुसँग भएको उनको भनाइ छ । स्रोत भन्छ, ‘भेटिएको मोबाइलको ब्याट्रीबारे कुकुरले गरेको संकेतबाट ती व्यक्ति शंकाको घेरामा थिए ।’
यद्यपि घटनामा उनको संलग्नतालाई पुुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने हुन्छ । पक्राउ परेका व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।
एकजना शंकितलाई पक्राउ गरेकोबारे केन्द्रीय प्रहरीले भने अनभिज्ञता जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता बसन्त कुँवर कोही पक्राउ परेकाबारे कुनै जानकारी आइनसकेको बताउँछन् ।
घटनास्थलमा रहेका प्रहरी अधिकारी पनि यस सम्बन्धमा केही बोल्न मान्दैनन् । अहिले घटनाको अनुसन्धान भइरहेकाले पक्राउ परेको वा नपरेको बारे केही बोल्न नमिल्ने बताउँछन् । ती अधिकारीले भने, ‘हामी अपराधीको नजिक छौँ । पक्राउ परेको वा नपरेको भन्ने बेला भएको छैन । केही व्यक्तिमाथि क्लोजि मनिटरिङ गरिरहेका छौँ । अहिले धेरै कुरा बोल्ने अवस्था छैन ।’