कांग्रेस नेता र नेकपा ओली समूह बिच आक्रमण


धनगढी– बैतडीमा आयोजित नेपाली कांग्रेसको आमसभामा नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्। नेपाली कांग्रेसका नेता एनपी साउँद सहभागी आमसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका हुन्।
बैतडीको डिलासैनी गाउँपालिकामा ३ मा आयोजित आमसभामा नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोराको नेतृत्वमा आएको समूहले आक्रमण गरेको हो।
आमसभा चलिरहेका बेला उक्त समूहले गरेको ढुंगामुढाबाट नेता साउँदको पेटमा ढुंगा लागेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेकपाका कार्यकर्ताहरुको ढुंगामुढापछि कांग्रेसको आमसभा केही समयका लागि बिथोलिएको थियो।
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार कांग्रेसको आमसभामा भएको झडपमा तीन जना समान्य घाइते भएका छन्।
उनका अनुसार सभामा झडप भएको खबर लगत्तै डिएसपी डिल्ली नारायण पाण्डेको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो। अहिले अवस्था सामान्य भएको उनले बताए।

तपाईको प्रतिक्रिया