
काठमाडौँ । सङ्घीय संसद् सचिवालयले कानुनी रुपमा नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन नभएकाले दुवै पक्षका सांसदहरू सत्ता पक्षकै ‘रो’ मा बस्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले आज सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरूलाई एउटै ‘रो’मा बस्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
सचिवालयका प्रवक्ता डा.पाण्डेले कार्यव्यवस्था समितिमा प्रतिनिधिसभाबाट अनुमोदन भएका सदस्यहरू रहने प्रचलन अनुसार नयाँ नियुक्ति भएका प्रमुख सचेतक समितिमा रहनुपर्ने बाध्यात्मक अवस्था नरहेको तर सभामुखले आमन्त्रण गर्न सक्ने व्यवस्था भएको समेत जानकारी दिनुभयो ।
उहाँले सङ्क्रमणकालीन अवस्था रहेकाले पुरानो प्रमुख सचेतकका रुपमा देव गुरुङ र नयाँ प्रमुख सचेतक विशाल भट्टराईलाई पनि सचेतकको सेवा सुविधा दिइएको जानकारी गराउनुभयो ।
प्रवक्ता डा. पाण्डेले विगतको परम्परा अनुसार पनि सम्भावित कार्यसूची परिवर्तन हुनसक्ने जानकारी दिनुहुँदै सचिवालयले जारी गरेको आजको सम्भावित कार्यसूचीमा राष्ट्रपतिले पठाएको पत्र, शोक प्रस्ताव र केही अध्यादेश पेस गर्ने कार्यसूची रहेको समेत जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार