
सागर परियार ।
जुम्लामा इन्टरनेट तथा फोन सेवा अवरुद्ध हुने समस्या थप एक महिना लम्बिने देखिएको छ । क्षमता भन्दा दोब्बर बढी ग्राहक भएपछि इन्टरनेट सेवा थप एक महिनासम्म राम्रोसँग चल्न नसक्ने नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताउनुभयो ।
४ सय ८९ एमबी मात्रै क्षमता भएपनि ग्राहक भने क्षमता भन्दा दोब्बर बढेपछि इन्टरनेट र टेलिफोनमा समस्या देखिएको श्रेष्ठले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘ल्याण्डलाईनको क्षमता ७ सय २५ लाइन भएकोमा हाल सम्म ७ सय ५ लाइन प्रयोग भइसकेको छ । त्यस्तै,लिज लाइन,एडिसियल लाइन विटिएस लाइन, फोजी, थ्रि जी लगायतका सबै लाइनको क्षमताभन्दा दोब्बर ग्राहक हुँदा समस्या आएको हो ।”
चालु आवमै जुम्लाका तिला,तातोपानी, सिञ्जा लगायतका ५ ठाउँमा टेलिकमको सेवा र क्षमता विस्तार गरेपनि लोड झनै बढेर सेवा प्रभावित भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । गएको दसैँ यता १५० एमबी बढाएपनि ग्राहकको सङ्ख्या ह्वात्तै बढेपछि समस्या देखिएको उहाँले बताउनुभयो । जुम्लामा पटक पटक टावर जाने,इन्टरनेट अवरुद्ध हुने समस्यासमेत छ ।
नागरिक समाजका अध्यक्ष राजबहुर महतले फास्ट इन्टरनेट चल्ने भयो भनेर खुसी हुनुपर्ने बेलामा अझै महिनादिन सेवा अवरुद्ध हुने कुरा दुखद् भएको बताउनुहुन्छ ।
टावर जाने, इन्टरनेट नआउने समस्याले मिडियाकर्मीलाई बढी सास्ती भएको पत्रकार महासङ्घका केन्द्रिय सदस्य पूर्णप्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार जुम्लामा नियमित बत्ती नआउँदा उद्योगी व्यापारी मारमा छन् । टेलिफोन इन्टरनेट नआउँदा संचारकर्मी, बैङ्क तथा वित्तीय क्षेत्र लगायत लाखौँ उपभोक्ता प्रत्यक्ष मारमा परेको चौलागाईले बताउनुभयो ।
इन्टरनेट नआउँदा बैकका सबै काम ठप्प भएको राष्ट्रिय वाणिज्य बैंकका वरिष्ठ सहायक हेमन्त न्यौपानेले बताउनुभयो ।
जुम्लाको इन्टरनेटमा देखिएको समस्या समाधानका लागि क्षमता बढाउनु बाहेक अरू विकल्प नरहेको टेलिकम शाखा जुम्लाले जनाएको छ । क्षमता बढाउनका लागि पटक पटक माग गरेपनि सामान आई पुग्न ढिलाइ भएकाले समस्या देखिएको प्रमुख रामचन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘क्षमता बढाउन प्रयोग हुने ट्रान्समिसनको सामान कोलकत्ता बन्दरगाह आईपुगेको छ । काठमाडौँ आउन एक महिला लाग्ने छ । त्यसलगत्तै जुम्ला सामान पुगेपछि हालको भन्दा दोब्बरले इन्टरनेट सेवामा सुधार आउँछ ढुक्क हुनुहोस् ।”
आगामी वैशाख पहिलो हप्ताबाटै इन्टरनेटको क्षमता अभिवृद्धि गर्ने गरी तयारीमा जुटेको समेत टेलिकम जुम्लाका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।