सागर परियार ।
जुम्लामा पछिल्लो समय स्याउ खेती विस्तार हुँदै गएको छ । जुम्लाको आर्थिक समृद्धि तथा किसानको जीविकोपार्जन गर्ने माध्यम नै स्याउ खेती भएकोले जुम्लाका किसान र सरकारी लगानीमा स्याउ खेतीको क्षेत्र बढाउँदै लगिएको हो । विगतमा जुम्लाको ३ हजार ८ सय ८५ हेक्टर जमिनमा स्याउ खेती भइरहेकोमा अहिले १९ हेक्टरमा स्याउ खेती विस्तार भएको छ ।
स्याउ खेतीबाटै गाउँको आर्थिक समृद्धि गर्ने लक्ष्यका जुम्ला तातोपानी गाउँपालिका ६ हियाखोलाका किसानले १९ हेक्टर जमिनमा देशकै ठुलो नमुना स्याउ बगैँचा निर्माण गर्न जुटेका छन् ।
बुधवार हियाखोलामा निर्माण देशकै ठुलो नमुना स्याउ बगैँचा बनाउने अठोटका साथ नयाँ बगैँचा शिलान्यास गरिएको छ । करिब १९ हेक्टर जमिनमा फैलिएको उक्त नमुना बगैँचाको २ किलोमिटर क्षेत्र सुरक्षित घेराबारसहितको बगैँचा निर्माणको शिलान्यास गरिएको हो ।
मालिका स्याउ उत्पादन कृषक समुह हियाखोलाको सक्रियता र स्याउ सुपरजोन,गाउँपालिकाको आर्थिक सहयोग तथा कृषि अनुसन्धान केन्द्र राजिकोट र विजयनगरको प्राविधिक सहयोगमा स्थानीयहरूले देशकै ठुलो नमुना बगैँचा निर्माणको काम थालनी गरेको स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
स्याउ सुपरजोन कार्यालयको स्याउ पकेट क्षेत्र कार्यक्रम अन्तर्गत देशकै ठुलो र कर्णालीकै पहिलो नमुना बगैँचा निर्माण गर्न लागेकोले उहाँले बताउनुभयो । अबको ५ पाँच वर्षपछि हियाखोलाका किसान आर्थिक रुपमा सक्षम हुने विश्वास उहाँले गर्नुभयो ।
नमुना स्याउ बगैँचाबाट हियाखोलासहितका करिब २ सय किसान प्रत्यक्ष लाभान्वित हुने उहाँले जानकारी दिनुभयो । भण्डारीका अनुसार निर्माणाधीन बगैँचालाई गौरबको आयोजनाका रुपमा अघि बढाएर पहिला घेराबार त्यसपछि लिफ्ट सिचाई निर्माण गर्ने योजना छ ।”
तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने स्याउ खेती प्रति स्थानीयको आकर्षणलाई देखेर नगरपालिका उत्साहित भएको बताउनुहुन्छ । उहाँले नगरपालिका यस्तो कामका लागि थप लगानी गर्न तयार रहेकोसमेत बताउनुभयो । देशकै नमुनाका रुपमा हेरिएको बगैँचा निर्माणलाई पूर्णता दिएर स्याउ खेतीबाटै आर्थिक रुपमान्तरको अभियानमा सक्रिय हुन उहाँले किसानसँग आग्रह गर्नुभयो ।
३९ लाख लागतमा घेराबार
१९ हेक्टर जमिनमा फैलिएको नमुना स्याउ बगैँचाको ३९ लाख लगानीमा पक्की घेराबार निर्माण हुने भएको छ । करिब २ किलोमिटर गोलाइ भएको बगैँचामा एंगल, तार जाली सहितको घेराबार निर्माण गरिने छ । बगैँचा निर्माणको पहिलो चरण अन्तर्गत ३९ लाखमा लागतमा घेराबार निर्माण हुन लागेको हो ।
जसमा स्याउ सुपरजोनले २० लाख,तातोपानी गाउँपालिकाले ५ लाख र बाँकी १४ लाख किसानले व्यर्होनु पर्ने छ ।
४५ सय बिरुवा रोपियो
यसैबीच हियाखोलामा निर्माण हुँदै गरेको देशकै ठुलो नमुना स्याउ बगैँचामा स्थानीयजातका ४ हजार ५ सय स्थानीय जातका स्याउका बिरुवा रोपिएको छ । बगैँचा शिलान्यास गर्नु अघि नै हियाखोला, धौलापानी र हाँकुका २ सय किसानले ४ हजार ५ सय बिरुवा रोपिसकेको स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ ६ हजार स्याउका बिरुवा रोप्ने लक्ष्य छ । भण्डारीले भन्नुभयो ‘किसानले ४ हजार बढी बिरुवा रोपिसकेका छन् । बाँकी १५ सय बिरुवा पनि तत्कालै रोप्ने तयारी छ ।’
सिचाई मुख्य समस्या
सिचाई बिना स्याउ खेती सफल हुन सम्भव छैन । देशकै नमुना स्याउ बगैँचा निर्माण भइरहेको हियाखोलामा भने सिचाईको समस्या छ । पहिलो वर्ष घेराबार गर्ने सहमति भएपछि यस वर्ष लगाएका बिरुवा किसानले बोकेकै पानी हालेर हुर्काउनु पर्ने छ ।
नजिकै कुनै पानीको स्रोत नभएको र तिलानदीबाट सोलार लिफ्ट प्रविधिबाट पानी तान्ने बाहेक अरू विकल्प नभएकोले किसान समस्यामा परेको मालिका स्याउ उत्पादन कृषक समूहका अध्यक्ष जनक बहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष घेराबार सम्पन्न गरेपछि मात्रै लिफ्ट सिचाई योजना बनाउने तयारी छ । लिफ्ट सिचाई नहुँदासम्म बोकेरै बगैँचामा पानी हाल्न किसान तयार छन् ।’
घेराबार पहिलो प्राथमिकता भएको र तत्काल सिचाई बोकेर पनि गर्न सकिने भएकोले घेराबारमा पैसाको अभाव नहुने भन्दै सक्रिय रुपमा अघि बढ्न ६ नम्बर वडाध्यक्ष विशाल खड्काले अनुरोध गर्नुभयो ।