सागर परियार ।
मौसममा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई क्षतीपुर्ति बापत करिब साढे २ करोड बराबरको बिमा रकम भुक्तानी गरिएको छ । माथिल्लो कर्णालीका जुम्ला,कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख क्षतीपुर्ति रकम हस्तान्तरण गरिएको हो । प्रति विरुवा ४२ रुपैयामा बिमा गराएका किसानले भुक्तानी भने प्रतिविरुवा २ सय ७० रुपैया पाएका छन् ।
जसमा जुम्लाका ७ सय ४७ जना किसानले ४९ हजार विरुवाको बिमा गराएका थिए । प्रति विरुवा २ सय ७० रुपैयाका दरले १ करोड ३३ लाख बिमा दाबी रकम भुक्तानी गरिएको छ । जिल्लामै सबैभन्दा बढी ७ सय विरुवाको बिमा गराएका पातारासीका किसान अधिराज विष्टले १ लाख ८९ हजार भुक्तानी पाएका छन् ।
बिमा रकम बुझ्दै विष्टले भने,“विगतमा बिमा नगर्दा असिना,पानीबाट हुने क्षतीपुर्तिको राहत पाएनौ । बिमा कम्पन्नीले पछिल्लो समय गाउँगाउँमा चेतना अभिबद्धि गरेपछि बिमा गराए । यस वर्ष स्याउ उत्पादन कम हुँदा घाटा भएको बिमा रकमले राहत दिएकोमा खुसी छु ।”
त्यस्तै कालिकोट जिल्लाका ३ सय २६ जना किसानले २ हजार ६ सय विरुवाको मौसममा आधारित स्याउ बिमा गराएका थिए । प्रति विरुवा २ सय ७० रुपैयाका दरले कालिकोटका ३ सय २६ किसानले ७० लाख २० हजार क्षेतिपुर्ति करम भुक्तानी पाएका छन् । साथै मुगु जिल्लाका ३ सय १८ जना किसानले १ हजार ९ सय विरुवाको बिमा गरे बापत ५१ लाख ३० हजार भुक्तानी पाएका छन् ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाले बीमा गरेका किसानलाई घरदैलामै गएर क्षतिपूर्ति रकम दिएको बिमा कम्पन्नीका कर्णाली ईन्चार्ज रिसिराम पाण्डेले बताए । उनले भने,“बिमा गरेर समयमै भुक्तानी दिने गर्दा जुम्ली किसानको स्याउ खेती तर्फ आर्कषण पनि बढेको छ । भने,बिमितहरुको संख्या पनि बढ्दै गएको छ । साविक कर्णाली पाँचै जिल्लाका गाउँगाँउमा बिमाको पहुँच बिस्तार गर्ने लक्ष्यमा छौ ।”
कर्णालीका किसानहरुले गतवर्ष स्याउ फल्ने बेला परेको असिनाले क्षति गरेका थिए । सोहि बीमा गराएका किसानहरुले कोरोनाका कारण केहि ढिला क्षतिपूर्ति वितरण गरिएको पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका इन्चार्ज ऋषिराम पाण्डेले उल्लेख गरे ।
मौसमी स्याउ असिना र सुक्खा खडरीले क्षति पु¥याएका तथा स्याउ उत्पादन घट्दा घाटा व्यहोरेका किसानले बीमा रकम पाउँदा राहत पहशुस गरेका छन् । गत वर्ष वैशाख देखि चैत १५ सम्म किसानले बीमा गराएका थिए । शिखर इन्सोरेन्सले स्याउको बीमासँगै जीवन बीमा पनि गर्न थालिएको हुनाले एक सय रुपैयाँले एक लाख रुपैयाँसम्मको बीमा गर्न सकिने पाण्डेले बताए । स्याउ बगैंचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखरले ल्याएको उनले जानकारी दिए ।
कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतले स्याउ खेतीबाट क्षति बेहोर्नु परेका किसानलाई राहत पुगेको उल्लेख गरे । जुम्लाका १६ हजार घरधुरी स्याउ खेतीमा निर्भर भएपनि साढे ७ सय किसान मात्रै बिमाको पहुँच भएकोले बिमा किसानको पहुँच बृद्धि गर्न चेतनामुलक कार्यक्रममा जोड दिनु पर्ने महतको भनाई छ ।