नेकपा स्थापना दिवस : यस्तो छ एकता र विभाजनको श्रृंखला


 काठमाडौं । टुटफुटबाट गुज्रिंदै आएका नेपालका कम्युनिष्ट पार्टीहरुले स्थापना दिवस मनाउँदै छन् । ७२ वर्षअघि आजकै दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ थिए भने अन्य संस्थापक नेताहरुमा निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ । यद्यपि यो पार्टी स्थापनासँगै मनमोहन अधिकारी, तुलसीलाल अमात्य, केशरजंग रायमाझीलगायत नेताहरु पनि जोडिएका थिए ।

नेपालमा जहानियाँ राणाशासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो ।

कम्युनिष्ट पार्टीका दोस्रो महासचिव मनमोहन अधिकारी बने भने तेस्रो महासचिव तुलसीलाल अमात्य । यसबीचमा कांग्रेस नेतृत्वमा रहेको सरकारले २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध समेत लगाएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीले चार सिट जितेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ
तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागू गरेपछि नेपाल कम्युनिष्ट पार्टी पुनः प्रतिबन्धित भयो । त्यसक्रममा केशरजंग रायमाझी पक्षले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि कम्युनिष्ट पार्टी विभाजन भयो ।

विभाजनका बीच झापामा तत्कालीन झापाली क्रान्तिकारीले ‘वर्गशत्रु सफाया’ अभियान चलाउँदै झापा क्रान्तिमार्फत नेकपा माले र हालको एमालेको रुप लिए । पुष्पलाल, मनमोहनहरुको समूह अन्ततः एमालेको धारमा २०४७ पछि एकीकृत भयो ।

मोहनविक्रम सिंह, निर्मल लामाहरुले नेतृत्व गरेका विभिन्न समूह नेकपा चौम, नेकपा मोटो मशाल, नेकपा पातलो मसाल, नेकपा एकताकेन्द्र हुँदै हालको माओवादी धार बन्यो । यद्यपि मोहनविक्रम सिंह भने अहिले पनि पातलो मसालको नेतृत्व गरिरहेका छन् ।

२०१५ सालमा चार सिट जितेर अस्तित्वमा आएको नेपाल कम्युनिष्ट पार्टी पञ्चायतकालमा विभिन्न चिरामा विभाजित भएको थियो । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन माले र मार्क्सवादी मिलेर बनेको एमाले संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो भने तत्कालीन जनमोर्चा र हालको माओवादी ९ सिटसहित तेस्रो दल बन्यो ।

२०५२ सालमा माओवादीले जनयुद्ध शुरु गरेपछि उसले संसदीय राजनीति परित्याग गर्यो । माओवादीले २०५१ सालमा आम निर्वाचन बहिष्कार गर्दा एमाले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एशियामै पहिलो कम्युनिष्ट एकल सरकार गठन गरेको थियो ।

२०५४ सालमा एमाले विभाजित भएपछि २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले पुनः दोस्रो दल बन्यो । ऐतिहासिक जनआन्दोलनपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी प्रत्यक्षतर्फ बहुमतसहित सबैभन्दा ठूलो दल बन्यो ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो र माओवादी तेस्रो दल बने । यसबीचमा नेपाल कम्युनिष्ट पार्टीबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बने ।२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर लडेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीले करीब दुई तिहाइ बहुमत सिट जित्न सफल भए । यो नेपाल कम्युनिष्ट पार्टी स्थापनाको करीब ७० वर्षकै इतिहासमै सबैभन्दा ठूलो सफलता थियो ।

 

चुनावी गठबन्धनपछि २०७५ जेठ ३ गते एमाले र माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले यी दुई पार्टीबीचको एकता बदर गरिदिएपछि अहिले एमाले र माओवादी पुरानै अवस्थामा फर्किएका छन् । सरकारको नेतृत्व गर्दै आएको नेकपा एमाले पनि विभाजनको सँघारमा पुगेको छ ।

आन्तरिक विवादले कम्युनिष्ट पार्टीहरु टुक्राटुक्रामा विभाजित हुँदा कार्यकर्ताहरु निराश मात्र बनेका छैनन् नेताहरुप्रति पनि वितृष्णा बढेको छ ।

तपाईको प्रतिक्रिया