कालिकोटमा छाउ बार्न छोरीलाई छुट, बुहारीलाई बाध्यकारी


कालिकोट । कालिकोटको कालिका गाउँपालिका(६ निवासी पवित्रा खत्री छाउपीडित बुहारी हुन्। उनका सासूससुराले बुहारी कहिले महिनावारी हुन्छे भन्नेसम्मको हेक्का राख्छन्। महिनावारी भएको समयमा पवित्रालाई घरभित्र पस्न प्रतिबन्धजस्तै छ।

दैलेख कुसापानी माइती भएकी पवित्रा महिनावारी हुँदा घर पर बनाइएको छुट्टै कोठामा बस्न बाध्य छिन्। महिनावारी हुँदा घरमा बस्दा अशुभ हुने, देवताले नहेर्ने तथा घरमा केही न केही क्षति हुने मान्यता उनका सासू(ससुराको छ।

‘पराइ घरका हामीलाई सासूससुराको भावनात्मक माया कम हुने भएर होला, हामीलाई छाउ बढी नै बार्न बाध्य पारिन्छ,’ पवित्राले पीडा सुनाइन्, ‘आफ्ना छोरीहरू महिनावारी हुँदा सासूससुराको बेग्लै हाउभाउ देखिन्छ, उनीहरूप्रति गरिने व्यवहार पनि फरक हुन्छ।’

अविवाहित छोरी पवित्र हुने मान्यताले होला बुहारीको भन्दा कम छुई हुने विश्वास सासूससुरामा रहेको उनले बताइन्।

खाँडाचक्र नगरपालिका(१ निवासी एकल महिला तस्बीरा शाहीको पीडा पनि उस्तै छ। उनको परिवारले पनि महिनावारी भएका बेला खलामा समेत आउन दिँदैनन्। बजारमा होटल व्यवसाय गर्ने उनी घरमा पूजा लगाउँदा छुई छु भनेपछि गरिने व्यवहार अलग्गै हुने उनको अनुभव छ। विवाहअघि आमाहरूले महिनावारी हुँदा धेरै कडाइ नगरेको उनले बताइन्।

‘छोरीको मायाले होला महिनावारी भएको समयमा पनि उहाँहरूले खानेकुरा ल्याएर हातमै दिनुहुन्थ्यो’, उनले सुनाइन्, ‘तर अहिले सासूआमाले हातमा दिनुहुन्न थालीमा ल्याएको खाना भुइँमा राख्नुहुन्छ।’

कालिकोटको खाँडाचक्र नगरपालिका(३ की ७० वर्षीया लक्ष्मी शाही सासू(बुहारीको सम्बन्धका कारण परम्परादेखि नै छाउलाई कडाइ गर्ने गरिएको हुन सक्ने तर्क गर्छिन्। महिला स्वास्थ्य स्वयंसेविकासमेत रहेकी शाहीले आफू बुहारी हँुदा छाउमा निकै कष्ट सहनुपरेको सुनाइन्।

सासू(बुहारीको सम्बन्धका कारण पनि छाउपडीमा बुहारीलाई बढी दुःख दिने गरिएको छ।

‘महिनावारी भएको सात दिनसम्म त घरका भित्तासमेत छुन हामीलाई छुट छैन’, उनले भनिन्।सासू(बुहारीको सम्बन्ध र आमा(छोरीको सम्बन्ध, आफ्नो र अर्काको रगत छुट्ट्याउँदा छाउमा छोरी(बुहारीमा भिन्नता आउने गरेको उनको बुझाइ छ।

अहिले पनि कालिकोटमा ग्रामीण भेगमा छाउपडी प्रथा कायमै छ। जिल्लाका विभिन्न बस्तीमा महिला तथा किशोरीले महिनावारी भएका बेला गोठ, छाप्रो, ओडारमा बस्न बाध्य छन्। एक वर्षदेखि कर्णालीका कालिकोट, जुम्ला र मुगुमा छाउपडी प्रथा न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको एक्सन वक्र्स नेपालले कालिकोटका ग्रामीण भेगमा गरेको अध्ययनले बुहारीलाई छाउ बार्न बाध्य गराइएको तथ्य सार्वजनिक गरेको छ।

छाउप्रथाबारे कालिकोटका चिल्खाया, राचुली, जुवीथा, छाप्रे, पाखा, दाँहाँ र फोइमहादेवमा अध्ययन गरिएको थियो। अनुसन्धानले धार्मिक अन्धविश्वासकै कारण धेरैजसोलाई छाउप्रथा मान्न बाध्य गराइएको देखाएको छ।

महिनावारीका बेला दूधजन्य पदार्थ खान नहुने, मन्दिर जान नहुनेजस्ता अन्धविश्वासले जरा गाडेको अनुसन्धानले देखाएको छ।

फलफूलका बिरुवा छुन नहुने, भान्छामा जान नहुने, घरभित्र पस्न नहुने तथा छाप्रोमै बच्चा जन्माउनुपर्ने तर्क गर्नेहरू पनि धेरै रहेको भेटिएको छ। किशोरीहरू विद्यालयका अतिरिक्त क्रियाकलापमा भाग नलिने तथा पूजाकोठामा नजाने पनि अनुसन्धानले देखाएको छ।

अन्नपुर्ण पोष्टबाट

तपाईको प्रतिक्रिया