
जुम्ला ः प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतले कोभिड एम्बुलेन्स व्यवस्थापन गर्नका लागि १० लाख बजेट उपलव्ध गराउने भएका छन् । गएको बैशाख १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित विरामी ओसारपसार गर्ने एम्बुलेन्स व्यवस्थापन गर्नका लागि यहाँका ८ वटै स्थानीय तहले एक÷एक लाख बजेट उपलव्ध गराउने निर्णय गरेको थियो ।
तर कुनै पनि स्थानीय तहले बजेट व्यवस्थापन नगरेपछि प्रशासनले संक्रमित व्यक्तिले स्थानीय तहमै सम्र्पक गर्न पत्र पे्रसित भएपछि सांसद महतले कोभिड एम्बुलेन्स व्यवस्थापन गर्न १० लाख बजेट उपलव्ध गराउने भएका हुन् । सांसद निर्वाचन क्षेत्र विकास कोषबाट सांसद महतले बजेट उपलव्ध गराउने भएका हुन् ।
तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीका अनुसार सांसद महतले सांसद निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख बजेट तिला गाउँपालिकालाई उपलव्ध गराउने र गाउँपालिकाले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई उपलव्ध गराउने भएको छ ।
उनले भने विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर दिन दुईगुणा रात चौगुणा फैलिरहेको छ । एम्बुलेन्स व्यवस्थापनका लागि स्थानीय तहले बजेट उपलव्ध नगारएको प्रेसित पत्रले जनप्रतिनिधिको ध्यानाकर्षण भएको र सो कुरालाई मध्यनजर गरी सांसद महतले कोभिडका विरामी बोक्ने प्रयोजनका लागि १० लाख बजेट व्यवस्थापन गर्नु भएको उनले बताए ।
४० स्याम्पलमा २२ जना संक्रमित
जुम्लामा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । यसअघि ६२ जना कोरोना संक्रमित रहेका थिए । बैशाख २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आरटी पिसिआर ल्यावमा ४० जनाको स्याम्पल परीक्षण गरिएको हो ।
परीक्षण गरिएका मध्ये २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठान स्रोतले जनाएको छ । संक्रमण पुष्टि भएका व्यक्तिहरु लक्षणसहितका छन् । उनीहरुलाई अक्सिजनको पनि आवश्यकता पर्ने जनाएको छ ।