
विश्वभरि महामारीका रूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस संक्रमणले मानव जगत्लाई नै संकटमा पारेको छ । पहिलो चरणको कोरोनाले ९/१० महिना थला–परेको व्यापार–व्यवसाय भर्खर लयमा आउन थाले पनि दोस्रो लहरको संक्रमण भयावह रूपमा फैलिएपछि फेरि उद्योग, कलकारखाना, व्यापार–व्यवसाय थला परेको छ । विगतको भन्दा दोस्रो लहरको संक्रमणले मानवीय क्षति अझै धेरै गरेको हुन सक्ने विज्ञहरू बताउँछन् । दोस्रो लहरको कोरोना संक्रमणबाट मानव विकास सूचकांकमा पछि परेको कर्णाली प्रदेशका दुुर्गम जिल्लाहरू पनि अछुतो रहेनन् । दैनिक सयौंका दरले संक्रमित कर्णालीमा बढिरहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णालीसँगै देशभरकै भरोसाका रूपमा कोभिड रोकथाम तथा नियन्त्रण उपचारमा जुटेको छ । तर, देशको अवस्था भयावह भइरहँदा कर्णालीमा पनि काठमाडांै नेपालगन्ज जस्तै संक्रमण र मर्नेहरूको दर नबढ्ला भन्न सकिँदैन । त्यसैले सुरुमै राहत दिएर पछि सेलाउनुभन्दा, मास्क साबुन बाँड्नुभन्दा नागरिकलाई दोस्रो लहरको संक्रमणबाट बचाउन सचेत गराउन भने अति आवश्यक देखिन्छ भने पीसीआर जाँचको दायरा बढाउने, सचेतना बढाउने, सामाजिक दूरी कायम गर्ने मास्क, स्यानिटाइजर प्रयोग अनिवार्य गर्नेजस्ता कुरामा आमनागरिकले ध्यान दिएमा केही हदसम्म संक्रमण दरलाई कम गर्न सकिन्छ । तर, सबै निकाय जिम्मेवार नभएको खण्डमा संक्रमण निर्मूल पार्न भने विगतको जस्तो सहज नरहेको समेत चिकित्कहरू बताउँछन् । यसै सन्दर्भमा दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका उपाय, देशमा स्वास्थ्य संकटकालको आवश्यकता औचित्य, तीनै तहका सरकारले गर्नुपर्ने कार्यलगायतका विषयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाका निमित्त अस्पताल निर्देशक डाक्टर राजीव शाहसँग जुम्लास्थित कारोबारकर्मी सागर परियारले गरेको कुराकानीको सार ः
कोरोना संक्रमणको अवस्था भयावह छ
राजीव शाह
निर्देशक, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्ला
कर्णालीमा दोस्रो लहरको कोरोना संक्रमणको अवस्था कस्तो छ ?
कर्णालीमा दोस्रो लहरको कोरोना संक्रमणको अवस्था निकै भयावह छ । किनभने कर्णालीबाट कालापहाड (भारत) कमाउन जानेको संख्या अत्यधिक छ । भारतमा कोरोना संक्रमण बढेसँगै घर फर्किने ह्वात्तै बढेपछि कोरोना संक्रमण पनि ह्वात्तै बढ्यो । अहिले समग्र कर्णालीको कुरा गर्ने हो भने कोरोना पोजेटिभ हुने दर ७५ प्रतिशत पुगेको छ । जुन निकै खतरा अवस्था हो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोना पोजेटिभ हुने दर १५ प्रतिशत पुगेपछि अनिवार्य लकडाउन गर्नुपर्छ । तर, समग्र कर्णाली प्रदेशमा ७५ प्रतिशत र जुम्ला जिल्लाको कुरा गर्नुपर्दा ४० देखि ४५ प्रतिशत कोरोना पोजेटिभ दर छ । कर्णालीमा अवस्था भयावह भए पनि सबैको भरोसाका रूपमा कर्णाली प्रतिष्ठानले उपचार तथा कोरोना रोकथाममा काम गरिरहेकाले हामी स्रोतसाधन तथा जनशक्तिसहित तयारी अवस्थामा छांै । अहिले प्रतिष्ठानमा २ सयभन्दा बढी अक्सिजन सिलिन्डर मौज्दात छन् भने मौज्दातमध्ये १ सय सिलिन्डर कोभिड बिरामीका लागि छुट्ट्याएको छ । आइसोलेसन बेड १२०, एचडीयु बेड २४, आइसीयू बेड १२ र भेन्टिलेटर १५ वटा तयारी अवस्थामा छन् । अन्य कोभिड स्वास्थ्य सामग्री, पीपीई, मास्क, स्यानिटाइजर अहिले दुई–तीन महिना पुग्ने मौज्दात गरेका छौं । साथै अक्सिजन प्लान्टबाट बुस्टर नहुँदा उत्पादन नभए पनि २५ देखि ३० बेडमा नियमित रूपमा पाईपबाट अक्सिजन पु¥याएका छौं । जुम्ला सहित कर्णालीका सबै जिल्लामा कोरोना संक्रमण बढ्ने सम्भावना छ । कन्ट्याक टे«सिङलाई पनि जोड दिएका छांै । विगतको जस्तो स्थानीय सरकार प्रदेश सरकारले जिम्मेवार भएर कोरोना रोकथाममा नजुट्नु र अर्कातर्फ नागरिकको गैरजिम्मेवारी, स्वास्थ्य मापदण्ड पालना नगर्ने समस्याले गर्दा कर्णालीका गाउँगाउँमा कोरोना संक्रमणको अवस्था भयावह देखिन्छ । जारी लकडाउनको पालना गर्नुपर्छ । पोजेटिभ हुने दर धेरै माथि भएकाले भेला, विवाह व्रतबन्ध, भोज तत्काल रोक्नुपर्छ । नभए ठूलो समस्या हामीले भाग्नुपर्ने देखिन्छ ।
स्वास्थ्य संकटकाल भनेको के हो ? नेपालमा अहिले आवश्यक छ कि छैन ?
निकै राम्रो गम्भीर कुरा उठाउनुभयो । कुनै पनि विपत्ति, महामारी आउँदा समग्र देशको ध्यान सोही महामारीतर्फ केन्द्रित गर्नु नै संकटकाल हो । बुझिने भाषामा भन्नुपर्दा कोरोनाजस्ता विभिन्न महामारीबाट हुने ठूलो जनधनको क्षतिलाई रोक्न प्रयोग गरिने रणनीति नै स्वास्थ्य संकटकाल हो । नेपालमा अहिलेको परिस्थितिमा संकटकाल घोषणाको कुरा छ । यो निकै अत्यावश्यक कुरो हो । नेपालमा संक्रमणको दर ३५ प्रतिशत माथि छ । हेर्दा संक्रमण दर कम भए पनि क्षति विगतको तुलनामा धेरै बेहोरिसकेका छांै । विगतको तुलनामा दोब्बरले संक्रमितको मृत्यु भइसकेको अवस्था छ । अब पनि नागरिकलाई जोगाउने हो भने सरकारले तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ, जसले गर्दा कोरोना रोकथाम तथा नियन्त्रणमा निकै ठूलो टेवा पुग्छ । संकटकाल घोषणा गर्दा तीनै तहको ध्यान केन्द्रित कोरोना रोकथाम र नियन्त्रणमा मात्रै जान्छ, जसले गर्दा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा सहज हुन्छ । यसरी बेड नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहँदैन भने स्रोतसाधनदेखि जनशक्ति सबै कोभिड केन्द्रित हुने भएकाले हालको अवस्थामा नेपालमा स्वास्थ्य संकटकाल अति आवश्यक छ । तर, सरकारले संकटकाल घोषणा गर्ने भन्ने तर नगरेकै कारण संक्रमण बढिरहेको हो ।
संकटकाल घोषणा हुनेबित्तिकै तीन सरकारका विकास–निर्माण कार्य रोकिन्छन् । सबै क्षेत्रका जनशक्ति कोभिड रोकथाममै खटिनुपर्छ । औषधि उपकरण पनि धमाधम खरिद हुन्छन् । रोकथाम तथा उपचार पनि खरायोको गतिमा बढ्छ । संकटकालपछि जेजे काम हुन्छन्, मात्र कोरोना रोकथाम र नियन्त्रणका लागि हुने भएकाले गर्दा सरकारले जुम्लाबाटै सक्दो चाँडो स्वास्थ्य संकटकाल घोषणाका लागि अनुरोध गर्छु । संकटकाल घोषणा भएको खण्डमा हालको जस्तो हामीले ज्याउन गुमाउनै पर्दैन । सानो उदाहरण, पहिलो चरणको कोरोना संक्रमणको बेला इटलीले लकडाउन नगरकै कारण मात्र त्यति धेरै मानवीय क्षति भएको हो । तर, नेपालमा लकडाउन भए पनि त्यसको कार्यान्वयन, व्यवस्थापनमा स्वयम् तीनै तहका सरकार गम्भीर छैनन् । तर संकटकाल घोषणापश्चात् सबै केन्द्रित कोभिड नियन्त्रण हुने भएकाले सजिलै महामारीलाई पार लगाउन सकिन्थ्यो । कोरोना महामारीबाट मानवीय क्षति रोक्न संकटकाल घोषणा गर्न जिल्ला हुँदै प्रदेशबाट केन्द्र सरकारलाई दबाब दिनुपर्छ ।
दोस्रो लहरको कोरोनालाई कसरी विश्लेशषण गर्नुहुन्छ ? यसको समाधानका उपाय के छन् ?
एक चिकित्सक हुनुको नाताले भन्नुपर्दा विगतको भन्दा दोस्रो लहरको कोरोना निकै खतरा रहेको छ । पहिलो चरणको कोरोना संक्रमण बूढापाकालाई बढी हुन्थ्यो । तर, अहिले १५ वर्ष माथिका सबैलाई संक्रमण हुन्छ । अहिले कोरोना लाग्ने बित्तिकै निमोनिया हुने र ९५ प्रतिशत संक्रमितलाई अक्सिजन अनिवार्य चाहिने भएको छ । स्वास्थ्य प्रतिकूल समस्या देखापर्ने, जस्तै टाउको दुख्ने, पेट दुख्ने, पखाला चल्नेजस्ता समस्याले मान्छेलाई गलाउने र सीधै सुताउने गरी बेथा लाग्ने गरेको छ । विशेषगरी अक्सिजन चाहिन्छ । नेपालमै अक्सिजनको उत्पादनदेखि अक्सिजन सिलिन्डरको मात्रा भएकाले यही रफ्तारमा संक्रमित बढेको खण्डमा निकै समस्या हुने देखिन्छ । अहिलेको चुनौती भनेकै अक्सिजन आपूर्ति हो । तर, ९५ प्रतिशत संक्रमितलाई अक्सिजन आवश्यक परेको छ । विगतको भन्दा दोस्रो लहरको संक्रमण ज्यानमारा, खतरा छ । हाम्रो सानो लापरबाहीले गर्दा घरपरिपार, समुदाय, जिल्ला र राष्ट्रले नै क्षति बेहोर्नुपर्ने देखिन्छ । त्यसैले गर्दा कोरोना रोकथामको एकमात्र विकल्प अथवा उपाय भनेकै पहिलो कुरा सकभर सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ । दोस्रो, जारी लकडाउनलाई कडाइका साथ पालना गर्ने, लकडाउनपछि पनि स्वास्थ्य मापदण्ड पालना नगरी विवाह, भोज, मेला, महोत्सव, जमघट गर्ने गतिविधि बढिरहेकाले संक्रमण उकालो लाग्दै छ । यी सबै गतिविधि ठप्पै पार्नुपर्छ । स्वास्थ्य मापदण्ड पालनादेखि सरसफाइमा समेत विशेष ध्यान दिए मात्र कोरोना रोकथाम सम्भव छ ।
कोरोना रोकथाममा सरकारले के गर्नुपर्ला ?
पहिलो कुरा, सरकारले यति बेला स्वास्थ्य संकटकाल नै लगाउनुपर्छ भन्छु । हालै पनि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । नेपालको पछिल्लो स्थिति हेर्दा कोरोना रोकथाम नेपालको काबुमा छैन । लापरबाही बढेको छ । अन्तर्राष्ट्रिय समुदायलाई गुहार मागेर भए पनि रोकथाम प्रभावकारी गर्नुपर्छ । साथै तीनै तहका सरकारले हालको विषम परिस्थितिमा विकास–निर्माणलाई सँगैसँगै बढाउने भन्दा नागरिकको जीउधन सुरक्षामा केन्द्रित हुन आवश्यक छ । स्थानीय तहमा आइसोलेसन, अस्थायी कोभिड अस्पताल छन् । तर, न त चिकित्सक छन्, न त अक्सिजन छ । त्यसैले गर्दा तीनै तहका सरकारले समन्वय गरी जनशक्ति, औषधि उपकरण व्यवस्थापनमा जोड दिन आवश्यक छ । कोरोना महामारीले देश आक्रान्त हुँदा नेताहरू राजनीतिक खिचातानीमा छन् । यसले नेता कुर्सीका लागि लड्ने नागरिक आफ्नो ज्यान जोगाउन लड्नुपर्ने अवस्थाले नेपालले आर्थिक, सामाजिक हिसाबले दूरगामी असर भोग्नुपर्ने देखिएको छ । अवस्था निकै जोखिमपूर्ण आइसकेको र धेरै ढिला पनि भइसकेकाले तीनै तहका सरकार कोरोना रोकथाम नियन्त्रणका लागि जनशक्ति, औषधि उपकरणको व्यवस्थापनै जुट्नुको विकल्प छैन ।
कोभिड रोकथाममा मिडियाको भूमिका कस्तो हुनपर्छ ?
यो कुरा पनि निकै महŒवपूर्ण उठाउनुभयो । अहिले महामारीमा सञ्चार क्षेत्रको भूमिका महŒवपूर्ण छ । हामीले प्रसारण, प्रकाशन गर्ने सामग्रीलाई कसरी नागरिकमैत्री बनाउन सक्छौं भन्ने विषयमा बढी जोड दिनुपर्छ जस्तो छ । सधैं यति मरे, यति संक्रमित भए भन्नुभन्दा अर्थात् नकारात्मक मात्रै लेख्नुभन्दा यति संक्रमणमुक्त भए, संक्रमितकै सफलताका कथाहरूलाई प्राथमिकताका साथ जोड दिनुपर्छ । मिडियाले नकारात्मक कुरालाई मात्र प्राथमिकता दिएका कारणले संक्रमितहरू त त्रसित भएकै छन् । संक्रमित नभएका स्थानीय सर्वसाधारणहरू पनि समाचार सुनेकै भरमा निकै त्रसित भएको पाइन्छ । त्यसैले कोभिड रोकथाम तथा नियन्त्रणका लागि मिडियाले सकारात्मक पाटोबाट संक्रमण भएका बेला खानपान, अभ्यास, आत्मबल बलियो गर्नुपर्ने, मानसिक रूपमा बलियो हुनुपर्ने, मनोसामाजिक परामर्श दिनुपर्नेजस्ता कुरालाई जोड दिन आवश्यक छ ।