कोरोना माहामारीमा चामल अभाव भएपछि थप कोटा स्वीकृत


जुम्ला ः कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएपछि थप कोटा स्वीकृत भएको छ । जुम्लामा अनुदानको चामल अभाब भएको गुनासो बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी २५ सय कुन्टल चामल थप कोटा स्वीकृत गरेको हो ।
खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारका अनुसार चामल अभावको गुनासो बढेपछि र केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको हो । प्रक्रिया सवै पुरा भएको छ । अब १०÷१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ ।
यस्तै प्रदेश कार्यालयसँग थप ५ हजार र नेपालगज्ज, बर्दिया, राजापुरबाट एक÷एक हजार कुन्टल चामल माग गरेका छौँ उनले कोटा स्वीकृत हुन बाँकी छ । माग गरिएका सवै कोटा स्वीकृत भएपछि आगामी आउने दसैतिहारमा पनि चामल अभाव हुने छैन । नागरिकलाई कोरोना माहामारीमा खाद्यको (चामल) समस्या नहोस भने खाद्य संस्थान व्यापार कम्पनी जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित रुपमा चामल विक्री गर्दै आएको छ ।
जुम्लाको वार्षिक चामल कोटा ५६५० क्विन्टल हो । प्रमुख सुनारका अनुसार यसमध्ये ९ सय क्विन्टल डोल्पा सर्मी र काईगाउँ डिपो पठाउनुपर्दछ । ‘जुम्लाका लागि ४२५० क्विन्टल मात्रै बाँकी हुन्छ । यसले बर्षभरी चामल पुग्दैन ।
जुम्लाको जुम्लाकोट र धापा डिपोमा चामलको कोटा छुट्याएको छ । २ वटा डिपो गरी २ हजार क्विन्टल चामलको कोटा विनियोजित गरेको हो । तर, चामल ढुवानीकर्ताले ढुवानी नगर्दा समस्या भएको स्थानीय बताउँछन् ।
जुम्लामा झन्डै २० हजार घरधुरीको १ लाख बढी जनसंख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्यांक छ । बाँकी ६ महिना खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया