विभागले मंगलबार जारी गरेको भिडियो बुलेटिन अनुसार ताउ ते नामक आँधीको असर प्रदेश १ र २ सहित देशका विभिन्न भागमा पर्नेछ । यसको असर आगामी शुक्रबारसम्म रहने भएकाले विभागले उक्त अवधिसम्म पर्वतारोहणमा नजानसमेत सचेत गराएको छ । पर्यटन विभागले पनि पर्वतारोही तथा सहयोगी आरोहीको सुरक्षामा ध्यान दिन सम्बन्धित एजेन्सीलाई आग्रह गरेको छ ।
उता, सगरमाथा आधार शिविर र त्यो भन्दा माथिका दुई शिविरमा गरी अहिले करीव १२ सय आरोही छन् । उनीहरु सगरमाथा आरोहणको लागि अनुकलु मौसम कुरेर बसेका छन् ।
सगरमाथा आधार शिविरमै खटिएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आधार शिविर क्षेत्रमा सोमबार हल्का हिमपात भएको थियो । मंगलबार भने त्यहाँको मौसम सामान्य छ । ‘यहाँ त कुनै प्रभाव देखिएको छैन, सामान्य जस्तै छ,’ उनले अनलाइनखबरसँग भने ।
पछिल्ला वर्षहरुमा सगरमाथासहितका हिमाल आरोहणका सिलसिलामा अन्तर्राष्ट्रिय एजेन्सीहरुले पठाउने मौसमी अपडेटलाई आधिकारिक मानेर निर्णय लिने गरिएको छ । यसरी लिने प्रक्षेपण मिल्ने सम्भावना बढी हुने भएकाले समेत आरोहणमा त्यस्ता एजेन्सीको अपडेटलाई आरोहीले र आरोहण टिमले महत्व दिन्छन् । श्रेष्ठका अनुसार यो समय सगरमाथा क्षेत्रको मौसममा त्यति ठूलो परिवर्तनको चेतावनी छैन ।
हल्का हिमपातले आरोहणमा सहज
विज्ञहरुका अनुसार हिमाल आरोहणमा पुरै सुख्खा मौसम हुनुभन्दा हल्का हिमपात हुँदा सहज हुन्छ । सुख्खा मौसममा तीव्र गतिमा हावा चल्ने र हिउँ पग्लने सम्भावनासमेत हुन्छ ।
यो अवस्थामा आरोहण कठिन हुने सगरमाथा आरोही समेत गरिसकेका सम्पर्क अधिकृत श्रेष्ठले बताए । ‘आरोहणका लागि हल्का हिमपात हुनु निकै राम्रो हो,’ उनी भन्छन्, ‘यो पनि हिजो मात्र भयो, आज सामान्य छ ।’ उनका अनुसार सरकारले केन्द्रबाट दिएको मौसमी सूचनालाई समेत हेरेर निर्णय लिइने उनले बताए ।
क्याम्प २ मा २ सय आरोही
अहिले सगरमाथाको क्याम्प २ मा करीव दुई सय आरोही अनुकुल मौसमको पर्खाइमा छन् । शुक्रबार (२० मे ) पछि सगरमाथा क्षेत्रमा मौसम अनुकुल हुने जानकारी मौसमसम्बन्धी एजेन्सीहरुले गराएका छन् । त्यसपछि धमाधम आरोहण हुने सम्भावना छ ।
यता सरकारले समेत शुक्रबार समेत आरोहण नगर्न सचेत गराएको छ । अघिल्लो साता करीव २ सय आरोही सगरमाथा पुगेका थिए । बाँकी आरोही अबको पालोमा चुचुरो पुग्ने तयारीमा छन् । अहिले क्याम्प २ देखि तल भने १ हजार मानिस रहेका छन् ।
उनीहरु आरोही तथा आरोहीको व्यवस्थापनमा खटिएका सहयोगी, सरकारी सम्पर्क अधिकृत, डाक्टर, उद्धारकर्मीलगायत हुन् । यो पटक आधार शिविरको एउटा क्याम्पमा रहेको व्यक्ति अर्को क्याम्पमा जान नपाउने गरी कडा नियम राखिएका कारण कम्पनीको यकिन विवरण आरोहण पूरा भएपछि मात्र प्राप्त हुने सम्पर्क अधिकृत श्रेष्ठले बताए ।
यो सिजनमा ७९ मुलुकका ८६ टोलीमा कुल ७४५ जनाले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन् । यसमध्ये ४ सय भन्दा बढी सगरमाथाका लागि जारी भएका हुन् ।