कुन विद्युतीय उपकरणमा कति घट्यो भन्सार महसुल ?

 काठमाडौं । सरकारले विभिन्न घरायसी विद्युतीय उपकरणको भन्सार दर घटाएको छ । विद्युत खपत बढाउन भन्दै सरकारले विदेशबाट आयात हुने विद्युतीय उपकरणमा अन्तःशुल्क खारेज गरेको छ र भन्सार महसुलमा पनि छुट दिएको छ ।

यसले विदेशबाट आयात भई यहाँ बिक्री हुने विद्युतीय उपकरणकको मूल्य घट्नेछ । वासिङ मेसिन र भाँडा माझ्ने मेसिनमा यसअघि ५ प्रतिशत अन्तःशुल्क र ३० प्रतिशत भन्सार महसुल थियो । अहिले अन्तःशुल्क खारेज गर्दै सरकारले भन्सार दर २० प्रतिशतमा झारेको छ ।

रेफ्रिजेरेटर र फ्रिजको पनि अन्तःशुल्क २० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरिएको छ ।

सरकारले राइस कुकर, विद्युतीय केट्ली, जगजस्ता पानी तताउने भाडा र किरा मार्ने ट्रयापको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । टोस्टर, इलेक्ट्रोथर्मिक कफी र चिया बनाउने मेसिन, माइक्रोवेब ओभन, हेयर ड्रायरसहित हेयर ड्रेसिङ उपकरणहरु, कोठा तताउने हिटर, इमर्सन हिटर, स्टोरेज हिटिङ रेडियटर र पानी तताउने हिटरको भन्सार दर पनि १५ प्रतिशतबाट झारेर १० प्रतिशत कायम गरेको छ ।

आइरन, हात सुकाउने उपकरण, फुड ग्रान्डर र मिक्चर्सको भन्सार दर पनि १० प्रतिशतमा झारिएको छ । इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर ५ बाट १ प्रतिशमा झारिएको छ ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले बिजुलीको खपत आन्तरिक रुपमै बढाउन विद्युतीय उपकरणको भन्सार महसुल दरमा परिवर्तन गरिएको बताए । ‘यसले अन्ततः आयात प्रतिस्थापनमा सघाउँछ,’ उनी भन्छन् ।

राजस्व सचिव रामशरण पुडासैनीले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने उद्देश्य राखेर विभिन्न मालवस्तुमा करको दर हेरफेर गरिएको बताए । ‘अर्थतन्त्रलाई लाभ हुने गरी नै करका दरहरु सामान्य समायोजन गरिएको हो, नयाँ कर लगाइएको छैन,’ उनले भने,‘अध्यादेश कानुन भएकाले कानुनबमोजिम कर लगाएका हौं ।’

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस