जुम्ला अस्पतालमा कोभिडका कारण मृत्यु हुनेको संख्या पाँच पुग्यो

जुम्ला ः जुम्लामा एक महिला संक्रमितको मृत्यु भएको छ । गुठिचौर गाउँपालिका – ३ की ७० वर्षीया एक महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लाको उपचारको क्रममा मृत्यु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता रमेश भट्टराइले आइतबार दिउँसो एक जना महिलाको मृत्यु भएको बताए । उनले गुठिचौर गाउँपालिका ३ की ७० वर्षीया एक महिलाको मृत्युसँगै हालसम्म जुम्ला अस्पतालमा पाँच जनाको मृत्यु भएको बताए ।
उनी जेठ १३ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई श्वासप्रश्वासको निकै समस्या थियो । अक्सिजनको मात्रा निकै कम थियो । प्रवक्ता भट्टराइले भने, ‘अक्सिजन दिएर भेन्टीलेटरमा राखेर उपचार गरिएको थियो । बचाउनको लागि अधिकतम प्रयास भएको थियो । तर बचाउन सकिएन ।’
जुम्लामा दुई साताको अन्तरालमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लामा उपचार गराइ रहेका कालिकोट तिलागुफाका २, सुर्खेत घर भइ कालिकोटमा व्यवसाय गर्दै आएका एक जना र जुम्लाका दुई जना संक्रमितको मृत्यु भएको हो ।
उनले भने, ‘दुई सातामा पाँच जना संक्रमितको मृत्यु भएको छ । जसमा दुई जना कालिकोट तिलागुफाका हुन् । एक जना सुर्खेतका बासिन्दा हुन् । जुम्ला हिमा गाउँपालिकाको एक पुरुष र गुठिचौर गाउँपालिका एक महिला संक्रमितको मृत्यु भएको हो ।’
कोरोना संक्रमणकाकारण मृतकको संख्या बढि रहेकोले सचेत रहन आग्रह गरिएको प्रवक्ता भट्टराइले जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुुुसार कोरोना संक्रमण भएका तर १४ दिन आइसोलेसनमा बसेर रिर्पोट नेगेटिभ आइसकेका जुम्ला गुठीचौर – ४ का अर्को पुरुषको शनिबार मृत्यु भएको थियो । तर उनको कोभिडका कारणले मृत्यु भएको भन्न नसकिने प्रवक्ता भट्टराइले बताए । उनले भने, ‘कोभिडले फोक्सोमा समस्या आएर मृत्यु भएको हो । रिर्पोट नेगेटिभ आइसकेकोले कोरोनाका कारण मृत्यु भन्न सकिने अवस्था रहेन । ’उनी दमका रोगी थिए ।
एक जना कालिकोटका संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । हाल प्रतिष्ठानको आइसोलेसनमा ३२ जना संक्रमितको उपचार भइराखेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक अनुसार बैशाख ८ देखि हालसम्म संक्रमितको संख्या ४ सय ८ जना रहेको छ । निको भएर घर फर्किनेको संख्या १ सय ८१ जना रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस