

छलफलमा नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले ओली पक्षका नेताहरुसँग भएको अनौपचारिक छलफलबारे ब्रिफिङ गरेका थिए । पाण्डे र भुसाल दुवैले ओली पक्षले वार्ताका नाममा भुल्याउन मात्रै खोजेको आफुहरुलाई भान भएको बताएका थिए ।
पार्टी विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलका नेतामध्ये भीम रावललाई ओलीले कारवाही गरेपछि सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले ओली पक्षसँग छलफल गरेका थिए । तर संस्थापन पक्षसँगको छलफलले ठोस प्रगति र आकार ग्रहण गर्न नसकेको पाण्डे र भुसालले छलफलमा ब्रिफिङ गरेको एक केन्द्रीय सदस्यले रातोपाटीलाई बताए ।
‘ओली पक्षबाट वार्तामा बसौं भन्ने कुरा आयो । पार्टी मिल्छ भने संवाद गर्दैमा केही बिग्रिदैन भनेर हामीले पनि प्रयास गर्यौ र बस्यौँ तर प्रयोग गर्न खोजेको जस्तो अनुभुति भयो,’ पाण्डेको भनाइ उदृत गर्दै माधव पक्षका एक नेताले रातोपाटीलाई बताए ।
बोल्ने अन्य नेताहरुले भने ओलीको भुलभुलैयामा लाग्न नहुने सुझाव दिएका थिए । उनीहरुले स्पष्ट कार्यदिशासहित अघि नबढे कम्युनिस्ट आन्दोलनमा थप क्षती हुने धराणा राखेका थिए ।
छलफलमा करिव ७५ जना जोडिएको बताइएको छ ।