
जुम्ला । कर्णाली प्रदेशको हिमाली विकट जिल्ला हुम्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । सर्केगार्ड गाउँपालिका – २ रिप गाउँका स्थानीय ५५ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।
गएको साता लक्षणसहितको संक्रमण पुष्टि भएका उनको सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न संभव नभएपछि थप उपचारका लागि घोडामा जिल्ला अस्पताल सिमकोट ल्याउँदैं गर्दा बीच बाटोमै ज्यान गएको अहेव बबरजंग पालले बताए ।
कोरोना संक्रमणबाट हुम्लामा पहिलो पटक एकजनाको मृत्यु भएको हो । उनले भने संक्रमितको अक्सिजनको लेवल ४० भन्दा तल थियो । गाउँको स्वास्थ्य चौकीमा विद्युत अभावका कारण अक्सिजन दिने अवस्था नभएका कारण उनको ज्यान गएको हो ।
संक्रमित दम रोगी पनि थिए । थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न खोज्दा रकमको जोहो नभएकाले घोडामै सिमकोट ल्याइएको अहेव पालले बताए । हेलिकोप्टरको लागि धेरै प्रयास भयो पालले भने तर ९ लाख ५० हजार रकम पहिला जम्मा नगरे हेलिकोप्टर कम्पनीले आउन नमान्ने र संक्रमितको आर्थिक अवस्था निकै नाजुक भएकाले अन्तिममा घोडाबाट जिल्ला अस्पताल ल्याउन लागिएको थियो ।’ हुम्लामा मोटर बाटो पुगेको छैन । जिल्लामा सुविधा सम्पन्न पनि अस्पताल नभएकोले उपचार नपाएर नागरिकको मृत्यु हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।