
जुम्ला ः जुम्ला कारागारमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तिला गाउँपालिका – १ रारालिहिका ७६ वर्षीय एक पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा. रमेश भटट्टराइले दुई दिन देखि आइसियुमा उपचार गराइराखेको कैदीको मृत्यु भएको जानकारी दिए । उनले भने,‘संक्रमित जेलबाट आउनु भएको हो । उनी कैदी हो । दुई दिन देखि आइसियुमा राखेर उपचार भइराखेको थियो । सोमबार उनको उपचारका क्रममा मृत्यु भयो । उहाँलाई १५ जेठमा अस्पतालमा भर्ना गरिएको थियो ।’
कारागारभित्रका दुई महिला र १ सय २१ पुरुष गरी १ सय २३ जना कैदीवन्दी मध्ये १५ जना पुरुषलाई कोरोना संक्रमण देखिएको थियो । संक्रमति १५ जना मध्ये एक जना ७७ वर्षीय पुरुष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका कैदीको मृत्यु भएको हो । अन्य संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको कारागार कार्यालय जुम्लाले जनाएको छ । कारागारभित्रै आइसोलेट गरिएका कैदीवन्दीलाई भने संक्रमणका लक्षण नदेखिएको जनाएको छ ।
‘संक्रमितसंग ठुलो रोग थिएन । तर सामान्य दम देखिएको थियो । संक्रमणबाट बचाउनको लागि हर प्रयास भएपछि बचाउन सकिएन,’ डा. भटट्टराइले भने । एक जना कैदीको मृत्युसँगै जुम्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । अन्य तीन जुम्ला बाहिरको गरेर हालसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ६ जनाको मृत्यु भइसकेको छ ।
मृत्यु हुनेहरुमा कालिकोट जिल्ला तिलागुफा नगरपालिकाका दुई जना, सुर्खेत घर भएर कालिकोटमा व्यवसाय सञ्चालन गर्दै आइरहेका १ जना, जुम्लाको हिमा गाउँपालिकाका १ जना, तिलाका १ जना र गुठिचौर गाउँपालिकामा एक गरेर ६ जना संक्रमितको मृत्यु भएको हो ।
यस्तै, संक्रमण मुक्त भएका एक अर्का जेष्ठ नागरिकको पनि मृत्यु भएको थियो । तर संक्रमण मुक्त भएका व्यक्तिको भने प्रशासनले आफ्नो तथ्यांकमा भने उल्लेख गरेको छैन । कोभिडबाट मुक्त भएपनि संक्रमणले नै फोक्सोमा असर गरेकोले संक्रमणकै कारण (पोष्ट कोभिड) मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक डा. राजीव शाह बताउछन् ।
जिल्ला कारागार जुम्लाका कोरोना लक्षणका बिरामी देखिएपछि अस्पतालले पिसिआर परिक्षण गरेको थियो । जसमध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक बाहेक अन्य सबै संक्रमितको अवस्था सामान्य रहेको प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।
डिएसपी थापाले भने,‘ मृतकलाई संक्रमणको शुरुवात देखि नै अस्पतालमा लगिएको थियो । अक्सिजन दिइएको थियो । आइसियुमा राखेर उपचार भइरहेको थियो । चिकित्सकको उच्च निगरानी थियो । तर बचाउन सकिएन । कैदी संक्रमितलाई अस्पतालमा कडा सुरक्षा दिएर उपचार भइराखेको थियो । ’उमेरका हिसावले पाको र दमको रोगी भएकोले बचाउन कठिन भएको हो । मृतक पुरुष जबरजस्तीकरणी मुद्धाको कैद भुक्तान गर्दै आएका थिए । कारागारका कैदीबन्दीलाई भित्रै आइसोलेट गरेर राखेको कारागार जुम्लाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार बैशाख ८ देखि यता ५ सय ५ जना संक्रमित छन । जसमध्ये २ सय ९१ जना निको भएर घर फर्किएका छन । अस्पतालमा ३४ जनाको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । दैनिक दिन कोरोना संक्रमण बढिरहेकोले उच्च सावधानी अपनाउदै निषेधाज्ञाको पालना गर्न आग्रह गरिएको छ ।