बिरालोलाई जिल्लामै पहिलो पटक रेविज सुइ


नन्दराम जैसी

जुम्ला । पहिलो पटक जिल्लामा बिरालोलाई रेविज विरुद्धको सुइ लगाइएको छ। कुकुरलगायतका अन्य पशुलाई रेविजको सुइ लगाइने गरेको भएता पनि बिरालोलाई भने जिल्लामै पहिलो पटक सुइ दिइएको हो।

जिल्ला पशुसेवा कार्यालय र विभिन्न पशुसेवा केन्द्रद्धारा जिल्लामा संचालित घरपालुवा भुस्याहा कुकुरलाई रेविजको सुइ लगाउने अभियानका क्रममा कनकासुन्दरी गाउँपालिका ४ चौकीका पुन्नप्रसाद आचार्यले बिरालोलाई सुइ लगाएका छन्।

गत बिहीबार पशुसेवा केन्द्र कनकासुन्दरीमा कुकुरलाई रेविजको सुइ लगाउने क्रममा पुन्नप्रसाद आचार्यले बिरालो काखीमा च्यापेर सेवा केन्द्रमा ल्याएको देख्दा सबै आश्चर्य भए।

कुकुरलाई सुइ लगाउन लाइनमा बसेका स्थानीय पहिलो पटक बिरालोलाई रेविजको सुइ लगाएको देख्दा एकछिन गदगद हाँसे।लाइनमा बसेका सबैलाई पर्खाउँदै बिरालोलाई सुरुमै सुइ लगाइएको थियो।

बिरालोलाई सुइ लगाउन ल्याएकोमा पशुसेवा प्राविधिकले धन्यबाद दिएपछि पुन्नप्रसाद आचार्यले पनि खुसी व्यक्त गरे। उनले भने, ‘मेरो ५ जनाको परिवार छ, घरमा जे पाक्यो त्यसमा बिरालोले मुख हालि दिन्छ, त्यसैले बिरालोलाई रोग नलागोस् भनेर सुइ लगाउन ल्याएको हुँ।

जिल्ला पशुसेवा कार्यालयका अनुसार घरपालुवा जनावरमध्ये बिरालोलाई रेविजको सुइ लगाउने कार्य यसअघि जिल्लामा शून्य थियो। अन्य जनावरभन्दा मांसाहारी बिरालोलाई अझ छिटो रेविज संक्रमण हुनसक्ने पशुविज्ञको भनाइ छ।

‘हामीले पटकपटक सबै घरपालुवा पशुपंक्षीको स्वास्थ्य चेकजाँच तथा रेविज विरुद्धको सुइ लगाउन स्थानीयलाई आग्रह गर्र्यौ, तर उनीहरु आउँदैनन्, रेविज भएको पशुपंक्षीबाट अरुमा छिट्ट असर पर्ने भएकाले सबैले समयमै सचेत हुन जरुरी भएको पशुसेवा केन्द्र कनकासुन्दरीकी नायव पशुसेवा प्राविधिक शान्तीकुमारी बुढाले भनिन्।

उनका अनुसार कनकासुन्दरी गाउँपालिकामा मात्र यस पटक एक बिरालो सहित ३ सय ५० बढी कुकुरलाई रेविजविरुद्धको सुइ लगाइएको हो। ‘अझैं कैयौं कुकुर र बिराला छुटेका छन्, घरदैलोमै पुग्न सकिएको छैन, सेवा केन्द्रमा आउँदैनन्, यो कार्यक्रम वर्षमा एक पटक मात्र संचालन हुने उनले बताइन्।

तपाईको प्रतिक्रिया