चिनियाँ कम्यूनिष्ट पार्टीद्धारा जुम्ला अस्पताललाई स्वास्थ्य सामग्री सहयोग


जुम्ला ः चिनियाँ कक्यूनिष्ट पार्टी सय वर्ष पुगेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल मजदुर किसान पार्टीका नेता निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरणसहित आवश्यक स्वास्थ्य सामग्री जुम्ला ल्याएर अस्पताललाई बुझाएका हुन् ।
२ हजार ८ सय ८० थान एन नाइटीफाइप मास्क र १ थान हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । २ हजार माक्स जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई प्रदान गरिएको छ ।
नेमकिपाका केन्द्रीय सचिव समेत रहेका सुवालले कर्णाली जस्तो क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गर्न पाउँदा खुशि भएको बताए ।
हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेनट्रेटर भन्दा बढी भरपर्दो छ । अत्याधुनिक र बहुउपयोगी छ । ती सामग्रीको बजार मूल्य १ करोड रुपैयाँबढी रहेकोे छ, नेता सुवालले भने, ‘छिमेकी देश चीनले कोभिड माथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरुलाई आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरिरहेको प्रति खुशी छौँ ।’
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमाकिपालाई स्वास्थ्य सामग्री सहयोग स्वरुप प्राप्त भएको हो । जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरुलाई सो स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।
उनका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पतालमा प्रदान गरिसकेको छ । जुम्ला देखि विराटनगर सम्मका अस्पतालमा स्वास्थ्य सामग्री पुगिसकेको छ ।
स्वास्थ्य सामग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । उनले भने, ‘कोरोना महामारीको समयमा गरिएको यो सहयोग निकै प्रसंसनीय छ । आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई अगाडी बढाउनको लागि साथ र सहयोग रहने अपेक्षा गरिएको छ ।’
संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्रीले राहत मिल्ने बताए । उनले भने, ‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यानदिदै गरिएको यो सहयोगले कोरोना महामारी विरुद्ध लड्ने हौसला प्रदान गरेको छ । चीनले नेपालप्रति देखाएको सद्भाव र सहयोगको लागि हामी आभारी छौँ ।’

नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठान र अस्पतालमा स्वास्थ्य सामग्री सहित मेसिन भएको बताए । उनले भने, ‘यो सामग्रीको सही रुपमा सदुपयोग होस भन्ने अपेक्षा राखेका छौँ ।’
उपाध्यक्ष राजेश्वर देवकोटाले मित्रपार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार निकै अर्थपूर्ण भएको प्रतिक्रिया दिए । यो सहयोगले महामारीको विरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल थप बलियो हुनुका साथै हौसला प्राप्त हुने आशा व्यक्त गरे ।
नेपाल क्रान्तिकारी शिक्षक संघ जुम्लाका अध्यक्ष नर घर्तीले विश्व व्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरस बाट संक्रमितलाई अक्सिजनको अभाव हुनन दिन हाइड्रोजन अक्सिजन मेसिन उपलब्ध गरिएको बताए ।
नेपाल क्रान्तिकारी युवा संघका जिल्ला अध्यक्ष लालबहादुर बुढाले छिमेकी मितेरी देश चीनबाट सहयोग स्वरुप प्राप्त भएको स्वास्थ्य सामग्रीले संक्रमण नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने बताए । प्रतिष्ठानमा हाइड्रोजन मेसिन जडान गर्न प्राविधिक सहितको टोली जुम्ला पुगेको थियो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालगायत नेमकिपाका नेता कार्यकर्ता पत्रकार सहभागी थिए ।

 

तपाईको प्रतिक्रिया