सिंजाका अग्निपिडितलाई प्रशासनद्धारा आर्थिक राहत


सागर परियार ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले सिंजाका अग्निपिडितलाई आर्थिक राहत वितरण गरेको छ । सिंजा गाउँपालिका ३ धिताहलिहिका तीन जना अग्नीपिडितलाई राहत उपलब्ध गराइएको हो ।

गएको जेठ २८ गते विजुलीको तार सर्ट भएर घर आगलागी भएका सिंजा गाउँपालिका ३ अग्निपिडित अज बहादुर शाही,मन प्रसाद धिताल र प्रयाक राज धिताललाई प्रतिव्यक्ति २० हजारका दरले राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

प्रजिअ थापाका अनुसार ५ जनाको परिवारलाई १५ हजार र ५ जनाभन्दा बढी परिवार संख्या भएका पिडितलाई २० हजार राहत दिने व्यवस्था अनुसार तीनैजना अग्निपिडितलाई २०÷२० हजार उपलब्ध गराइएको हो ।

अग्निपिडित अज बहादुर शाहिले भने,“थोरै भएपनि प्रशासनले पिडामा मलम लगायो । सबै धनमाल जलेर आफन्तको शरणमा बसेका छौ । वर्षा शुरु भएपछि झनै गाह्रो भएको छ । प्रशासनको राहतले वर्षामा ओत लाग्ने व्यवस्थापन गर्ने उपाय आएको छ ।”

संकटमा पिडामा थोरै भएपनि प्रशासनले दिएको राहत प्रति खुसी व्यक्त गर्दै हरेक दुखमा सरकार नागरिक संगै रहेको महसुश भएको समेत अग्निपिडित शाहिको भनाई छ । अग्निपिडि शाहिलाई बुधबार प्रशासन कार्यालयमै २० हजारको चेक प्रजिअ भुपेन्द्र थापाले हस्तान्तरण गरेका हुन् ।

भने, अन्य दुई जना मन प्रसाद धिताल र प्रयाक राज धिताललाई गत साता नाग्म पुगेर आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । आगलागीबाट विस्तापित भएका पिडित परिवारलाई तत्तकालका लागि केहि राहत पुग्ने विश्वास गरिएको छ ।

हाल भईरहेको अविरल वर्षा तथा दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका साथै राहत र उद्दारको कार्यलाई पनि प्रशासनले प्रभावकारी रुममा अघि बढाईरहेको छ ।आगलागाीबाट तीनैजनाको गरी करिब अनुमानीत ३० लाख जती क्षती भएको छ ।

तपाईको प्रतिक्रिया