आमाले जातीय जन्जिर तोडेको त्यो दिन


आमाको बारेमा जस्ताको त्यस्तै लेख्दा कतै आमाहरुको पहिचानमा त ठेस लाग्दैन भन्ने लाग्दा लाग्दै पनि मेरी आमाको संघर्ष आमाबाट अनुमती लिएर लेख्ने प्रयास गरेको छु ।
करिव ७० बर्षको हाराहारीमा पुग्नु भयो ‘आमा’ । अहिले सम्म पनि हाम्रो घर व्यवहार आफै चलाउनु हुन्छ ।

जान्ने भएदेखि कुनै पनि प्रकारको मासु देख्नुभयो भने वान्ता गर्ने आमा पुर्ण शाकाहारी हुनुहुन्छ । कल्याल शाही ठकुरीको कोखबाट जन्म लिनु भएकी आमाको मेहनत हेर्दा लाग्छ,‘म उहाँको छोरा भएर जन्म लिएकोमा भाग्यमानी हुँ ।’ गाह्रो त के भने हाम्रो भान्सामा मासु पाक्यो भने दुइ तीन दिन आमालाई अर्को भान्सा बनाउनु पर्छ ।

मासु खाएको कुनै पनि भाडाकुडा कम्तिमा दुई तीन दिन प्रयोग गर्नु हुदैन । यो कुरा हाम्रो गाउँघर, नातागोता सबैलाई थाहाँ छ । आमा मामाको घरको जेठो सन्तानको रूपमा जन्मलिनु भएको हो । उमेरमै आमाको बाबा बित्नु भएकोले बज्यैलाइ सहयोग गर्ने प्रमुख जिम्मेवारी आमाको थियो ।

अब आमा हाम्रो आमा कसरी बन्नुभयो भन्ने बिषयमा ध्यान केन्द्रीत गर्न चाहन्छु । आमाको विवाह त्यो समयमा समाज पराम्परागत,सनातन,एउटा कठोर अनुशासनमा बाँिधएको थियो । सामाजिक विभेद,लैङ्िगक असमानताको त कुरा नगरौ । यो कुरा सुन्दा पनि आङ सिरिङ हुन्छ ।

उतिबेलाको बिवाहमा केही निश्चित मापदण्ड बनाएको हुन्थ्यो । त्यो समाजले । ती मापदण्ड बेगर जानु उसको जिन्दगी समाप्ती तिर जानू जस्तै थियो । एकातर्फ प्राय मागी बिबाह मात्र हुने गर्दथ्यो । त्यो पनि सानो उमेरमा मागेर बिवाह गर्ने चलन थियो । अर्कोतिर जारी प्रथाले एकदमै चरम रुप लिएको अवस्था थियो ।

जारी तिरेर बिबाह गर्दा आफू ठुलो मानिस भएको मान्ने चलन थियो । प्रचलित चलन बमोजिम मेरी आमाको बिवाहको लागि पनि कालिकोट जिल्लाबाट मग्निको कुरा आयो । चलेको कुटुम्बबाट कुरा आएपछि घरबाट स्वीकार्दै सानै उमेरमा बिवाह भयो । बिवाह गरेको धेरै बर्ष माईतिमा बस्ने चलन थियो त्यतिबेला । अझ त ठकुरी जातिमा अहिले सम्म पनि धेरै समय माईती तिर बस्ने चलन कायमै छ ।

आमा माइतीमा बस्दै गर्दा मेरो बाबा क्षेत्रीको छोरा संग हिमचिम चल्यो । जो काम तत्कालिन अवस्थामा धेरै खतरानाक थियो, कि कल्पना गर्न सकिँदैन । ठकुरीको सानो बच्चा कतै क्षेत्रीको गाउमा जाँदा ठुलो मानिसले पनि बाबू साहेब भन्दै ढोग गर्नु पर्दथ्यो रे । जे होस यो चलन थियो ।
जुन हाम्रा पुर्खाहरुले भोगेका पनि हुन । यो कठिन अवस्थामा एउटा कल्याल शाही ठकुरीकी छोरी र क्षेत्रीको छोरा बीचको प्रेम सम्बन्ध सफल हुन फलामको चिउरा चपाउनु जस्तै थियो । यो अवस्था केटा र केटी दुबैको हकमा बराबर लागू हुन्थ्यो ।

एकातीर त्यो जातिय विभेद तोड्न आमालाई सकस मात्र होइन जिन्दगी रहन्छ वा रहदैँन भन्ने निश्चित थिएन । अर्कोतर्फ बाबाको घर परिवारको अवस्था कस्तो हुने हो ? कसैले अनुमान लगाउन सक्ने अवस्था थिएन । तर उहाँहरु दुबै बीचको प्रेम नछुिटने अवस्थामा पुगिसकेको थियो । बाबालाई त बाजे बज्यैले आमालाई बिवाह गरेमा आफ्नो घर छोडनु पर्ने वा आफ्नो बाबा आमा सहित सबै अन्तै बसाई सर्नु पर्ने भन्दै बिवाह नगर्न दबाव दिन्थे ।

‘लेखेको हुन्छ देखेको हुदैन’ भन्ने उखानलाई साँचो मान्दै मेरो आमा बाबाले त्यो जातियताको जन्जिर तोडे । आफ्नो प्रेम सफल बनाएरै छाडे । अनि बाबा र आमा भागे । यो बीचमा परिवारले पाउनु नपाउनु दुख पाए । आमाबाबाले आफ्नो अनुभुति सुनाउँदा आङ सिरिङ हुन्छ । कुनै बेला हाँसो लाग्छ अनि कतिखेर खुसी । अरु सबै बाबा आमाले र बाजे बज्यैले भनेका ती दुखका दिन भन्ने हो भने पाठकलाई लामो हुन सक्छ ।

यति बुझ्नुस १ बर्ष दाङ जिल्लामा भागेर बस्नु परेको थियो । समय परिवर्तनशील छ,र गतिशील पनि । समयले आफै कोल्टे फेर्दै गयो । सम्बन्धहरु प्रगाड हुँदै गयो । आजभोली हाम्रो सबैभन्दा हितैसी र असल मित्र,मर्दापर्दा मेरो मावली समाजले नै सहयोग गर्नुहुन्छ । क्षेत्री गाउँमा अहिले पिँगीका कल्याल ठकुरीहरुका नाता अनुसारको ढोग भेट,भान्सा,रहनसहन चल्ने गर्छ ।

जातियताको कुनै पनि तुस रहेको छैन । पहिला आईसियो र गैसियो भन्ने भाषा बोल्न भन्दा मामाको घर नजाने निर्णय मैले गरेको थिए । आजभोली त्यही भाषा बोल्न मन लाग्छ । मेरा प्रिय सहयात्री तिनै मावली समाजका मानिस रहेका छ्न । खुसी लाग्छ‘मेरो आमाको त्यो बेलाको जातियता विरुद्धको लडाइँ सफल भएकोमा ।’

लेखक टोप बहादुर बुढा सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया