चन्दननाथमा सधै किचलोःमेयर उपमेयरको बिवादले बजेट प्रभावित,राजश्व संकलन ठप्प


सागर परियार ।

चन्दननाथ नगरपालिकाका मेयर र उपमेयरको विबादले चालु आव शुरु भइसक्दा समेत अझै बजेट अन्यौल अबस्थामा छ । मेयर कान्तिका सेजुवाल र उपमेयर अप्सरादेवी न्यौपानेको विवादका कारण आर्थिक बर्ष २०७८÷२०७९ को बजेटले अझै बैधानिकता पाउन सकेको छैन् । बजेट संगै मेयर उपमेयरको बिवादले चन्दननाथमा राजश्व संकलन, दैनिक सेवा प्रवाह समेत प्रभावित भएको छ ।

नीति कार्यक्रम तथा बजेट पारितका विषयमा मेयर उपमेयरले आफ्ना तर्क दिएकी छन् । मेयर कान्तिका सेजुवालका अनुसार गएको असार ३१ गते बहुमत कार्यपालिका सदस्यहरुबाट नीति कार्यक्रम बजेट पारित भएको छ । जसमा ४९ करोड ६८ लाख ६३ हजार बराबरको बजेट बहुमतले पारित भइसकेको मेयर सेजुवालको दाबी छ ।

असार १० मा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेपछि त्यसपछिका छलफल तथा बैठक उपमेयर आज भोली भन्दै टार्दै गएको र बैठकमा समेत नआई चासो नदिएपछि बाध्य भएर असार ३१ गते बजेट पास गरेको मेयर सेजुवालको भनाई छ । जम्मा ५२ जना सदस्यमध्य २८ जनाको उपस्थितीले बजेट तथा नीति पास भएको मेयरको दाबी छ ।

यता उपमेयर अप्सरादेवी न्यौपानले चन्दननाथको बजेट पारित नभएको बताउनुभयो । उहाँले भन्नुभयो,“हाम्रा असमहती हुँदा हुदै । पेलेर बजेट पारित भयो, हामी मान्दैनौ । यो बजेट बैधानिक छैन् ।”

बजेट निर्माणका कुनै पनि प्रक्रिया नमिलाएर छलफल नगरेरै ल्याएको बजेट मान्य नहुने समेत उपमेयरको न्यौपानेको भनाई छ । उपमेयरको उपस्थिती बिनै गैरकानूनी ढंगबाट मेयरले पेलेर पारित गरेको बजेट औचित्य छैन् । बहुमत सदस्यहरु मनपरी रुपमा ल्याएको बजेट र नीति कार्यक्रम प्रति असन्तुष्ट रहेको समेत जानकारी दिनुभयो ।

उहाँहरुकै बिवादका कारण राजश्व परामर्श समितिको वैठक नबस्दा राजश्व संकलनमा समेत कठिनाई भएको कर्मचारीहरुले बताएका छन् । यता राजश्व समितिको वैठकमा आफुलाई कहिले नबोलाएको मेयरको गुनासो छ । भने,हरेक कुरामा मेयर आफु चोखो हुन खोजेको भन्दै आफु संग समन्वय नगरी पेलेरै बजेट ल्याउन प्रयास भएकाले समस्या भएको उपमेयरको तर्क छ ।
चालु आर्थिक वर्ष शुरु भई साउन पहिलो साता भईसक्दा पनि चन्दननाथको बजेट अझै अनिश्चित छ । राजश्व संकलन अस्तव्यस्त छ । राजश्व तिर्न आउने, सिफारिस लिन आउने सेवाग्राहि काम नभएर घर फर्किन बाध्य छन् ।

राजश्व शाखाका कर्मचारी कमल भण्डारी राजश्व परामर्श समितिको बैठक बस्न नसक्दा राजश्वको रदरेट कायम नहुँदा राजश्व संकलन ठप्प छ । राजश्व बुझाउन आउने सेवाग्राहिले सास्ती मात्रै पाएका छन् । यता सेवाग्राहि मुनबहादुर नेपालीका अनुसार मेयर उपमेयरको जुगाँको लडाईले नगरबासीले शुरुवातीदेखिनै दुख पाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो,“असारमा सबै ठाउँमा राजश्व तिर्न चटारो हुन्छ । तर नगरपालिमा राजश्व परामर्श समितिको बैठक नबस्दा राजश्व संकलन ठप्प छ । कसरी नगरको विकास हुन्छ । मेयर उपमेयरको विबादले नगरको आर्थिक, सामाजिक विकासमा बाधा भएको छ ।”

वडानम्बर ८ का वडाध्यक्ष नरजित दमाईले मेयर उपमेयरको बिवादले बजेट प्रभावित भएको साउन १० गते सम्म बजेटलाई बैधानिकता दिन मिलेर आग्रह गरेको बताउनुभयो । नीति तथा कार्यक्रम समयमै पास गर्ने कुरामा धेरै पटक मेयर उपमेयरलाई छलफल गराउन खोज्दा सम्भव  नभएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ पौडेलको भनाई छ ।

आन्तरिक विवादका कारण नगरपालिकाको पछिल्लो तीन बर्षको सार्वजनिक सुनुवाई समेत गर्न सकेको छैन् ।े बजेट ल्याउनु अघि गत आवको सार्वजानिक सुनुवाई हुनुपर्ने समेत माग गरेको तर मेयरले वास्ता नगरेको उपमेयर अप्सरादेवि न्यौपानले उल्लेख गर्नुभयो ।

मेयरउपमेयरको विबाद कायमै रहेको र मेयर बजेट पारित भइसक्यो भन्ने,उपमेयर पक्ष छैनन भन्ने अन्यौलताका बीच चन्दननाथको बजेटले कहिले बैधानिकता पाउने टुंगो छैन् । असार १० गते अनिवार्य रुपमा बजेट ल्याईसक्नु पर्ने संबैधानिक व्यवस्था भएपनि चन्दननाथमा अहिले सम्म बजेटको सुनिश्चिता नहुँदा अनुदान कटौती हुने चिन्ता बढेको छ ।

तपाईको प्रतिक्रिया