निर्यात वृद्धि : मोटाएको कि सुन्निएको ?


काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गर्दा १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्‍यो । निर्यातको यो आंकडा कुल वैदेशिक व्यापारको दृष्टिकोणबाट मात्र ८.४० प्रतिशत हो ।

तर, निर्यातको मात्र आंकडा हेर्ने हो भने यो वर्ष नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपालले निर्यात व्यापारमा पहिलो पटक १ खर्बको आंकडा पार गरेको हो । निर्यातको वृद्धिदर ४४.४३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९७ अर्ब ७० करोड रुपैयाँको मात्र निर्यात भएको थियो ।

निर्यात बजारमा उत्साहजनक आंकडा आउँदा पनि सरोकारवाला भने खुसी छैनन् । किनकी यो स्तरको निर्यातको वृद्धिदर दीर्घकालसम्म जाने सुनिश्चित छैन । नेपाल उद्योग वाणिज्य महासंघ, निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रधान निर्यातको आंकडा भन्दा प्रवृत्तिबाट सन्तुष्ट देखिदैनन् । ‘निर्यात यो भन्दा धेरै माथि जानु पर्ने हो, उनी भन्छन्, तर, निर्यातको दीगोपन खै त ?’

गत आर्थिक वर्ष २०७६/७७ पाम आयलले नेतृत्व गरेको निर्यात बजारलाई यो वर्ष भटमासको तेलले नेतृत्व गर्‍यो । आव २०७७/७८ मा भटमासको प्रशोधित तेल आयात ५३ अर्ब ६५ करोड रुपैयाँ बराबर भएको छ ।

तर, भटमासको तेलको आयात नै चालु आव २०७८/७९ मा कायम रहला भन्ने निश्चित छैन । वाणिज्य-व्यापारविज्ञ रविशंकर सैँजु आफ्नो प्रतिस्पर्धी क्षमता भएका क्षेत्रको निर्यात भन्दा पनि नेपाललाई ट्रान्जिट बनाएर भारतमा निर्यात भइरहेको ट्रेण्डले यो वर्ष पनि निर्यातमा ठूलो भूमिका खेलेको बताउँछन् ।

उनी पनि यो प्रकारको निर्यातको ट्रेण्ड दीगो नहुने बताउँछन् । ‘गत वर्ष भारतले पाम आयल रोकेकै हो,’ उनी भन्छन्, ‘अब भटमासको तेल आयात पनि रोकियो भने के हुन्छ आंकडा ?’

पाम तेल ‘टप १०’ मै छैन

नेपालको निर्यात बजार कतिसम्म कमजोर छ भन्ने उदाहरण पछिल्ला दुई आर्थिक वर्षको व्यापारको प्रवृत्तिले देखाएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी निर्यात हुने १० वस्तुको सूचिमा पाम तेल पर्दैन ।

तर, पाम तेल आर्थिक वर्ष २०७६/७७ को सबैभन्दा बढी निर्यात भएको वस्तु थियो । उक्त आवमा १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको पाम आयल निर्यात भएको तथ्यांक छ ।

आव २०७६/७७ मा बढी निर्यात भएका ५ वस्तु          

  • पाम आयल : १८ अर्ब ३१ करोड
  • सोयाविन तेल : १२ अर्ब ६९ करोड
  • यार्न धागो : ७ अर्ब २५ करोड
  • कार्पेट : ६ अर्ब १५ करोड
  • जुट र जुटजन्य उत्पादन : ५ अर्ब ६६ करोड

भटमासको तेल आयात-निर्यात बराबर

आव २०७७/७८ मा नेपालले सबैभन्दा बढी निर्यात भटमासको तेल गर्‍यो । तर, यसको मूल्य हेर्ने हो भने आयात र निर्यात बराबर छ । भन्सार विभागका अनुसार यो आवमा विदेशबाट भटमासको कच्चा तेलको आयात ५३ अर्ब ३८ करोड रुपैयाँ बराबरको भएको छ ।

भटमासको प्रशोधित तेलको निर्यात ५३ अर्ब ६५ करोड रुपैयाँ रहेको आंकडा छ । यसको मतलव भटमासको तेल नेपालमा केवल ट्रान्जिट मात्र भएको हो ।

व्यापारीहरुका अनुसार विदेशबाट आउने कच्चा तेललाई नेपालमा प्रशोधन गर्दा थोरै ‘भ्यालू एड’ भने हुन्छ । यसरी तेस्रो मुलुकबाट नेपाल आउने र नेपालबाट भारतमा जाने प्रवृत्तिको व्यापारलाई नै विज्ञहरुले सबैभन्दा बढी जोखिमपूर्ण मान्छ्न् ।

वाणिज्य-व्यापारविद् सैँजुका अनुसार यस्तो प्रवृत्ति रहँदासम्म हरेक वर्ष नेपाल निर्यातमा ढुक्क भएर बस्न सक्दैन । किनकी यी वस्तुमा नेपाल आफु सक्षम भएर भारत वा तेस्रो मुलुक निर्यात गरेको होइन ।

खुला सिमानाको प्रभाव

राष्ट्रिय योजना आयोगका सहसचिव डा. बासुदेव शर्माले योजना आयोगको विकास पत्रिका २०२० मा प्रकाशित गरेको आलेख अनुसार नेपालको निर्यात व्यापारलाई नेपाल-भारत खुला सिमानाले ठूलो प्रभाव पार्छ । तर, यी दुई मुलुकको व्यापार नीति भने फरक-फरक छ ।

नेपाल आयात व्यापारमा खुला नीति अवलम्बन गरेको मुलुक हो । तर, भारत भने यसको विपरित नियन्त्रित र संरक्षणवादको नीति अपनाएको मुलुक हो । शर्माका अनुसार दुई भिन्न खालको व्यापार नीति अपनाउने दुई मुलुकबीच सम्पूर्ण सिमाना खुला हुँदा वैदेशिक व्यापारमा समेत खुला सिमानाको प्रभाव पर्छ । खुला सिमानाबाट मानिस, सामान र पूँजीको खुला रुपमा वारपार हुन्छ । अर्कोतर्फ भारतको बजार विशाल छ । सोहीकारण नेपालमा तेस्रो मुलुकबाट भारतको मागलाई दृष्टिगत गरि सामान आयात हुन्छ र भारतीय पर्यटक वा अन्य माध्यमबाट ती सामान भारत प्रवेश गर्छन् ।

भारतले अपनाएको संरक्षणवादकै प्रभावले जब भारतले यसरी सामानको आयात रोक्न थाल्छ, त्यसपछि नेपालको निर्यात बजार पनि खलबलिन थाल्छ । किनकी नेपालको अन्तर्राष्ट्रिय बजारमा आयात-निर्यात दुबै भारतसँग अति-निर्भर रहेको छ ।

डा. शर्माका अनुसार व्यापारीहरुले भने भारतले लिन नीति अनुसार आफुले आयात-निर्यात गर्ने वस्तुहरुमा परिवर्तन गर्छन् । यस्ता वस्तु कहिले औद्योगिक कच्चा पदार्थ हुन्छन् भने कहिले टिकाउ उपभोग्य सामान हुन्छन् । कहिले सुनचाँदी हुन्छन् भने कहिले वनस्पति घ्यू र खाद्य तेल हुन्छन् ।

निर्यात प्रवर्द्धन गर्न एक्जिम बैंक खै ?

निजी क्षेत्रले निर्यात प्रवर्द्धनमा उठाउँदै आएको विषय हो एक्पोर्ट-इम्पोर्ट (एक्जिम ) बैंक। निर्यातकर्तालाई सहुलियतदरमा ऋण उपलब्ध गरी प्रवर्द्धन गर्न हरेक मुलुकले यस प्रकारको व्यवस्था गरेका हुन्छन् । नेपाल उद्योग वाणिज्य महासंघ, निर्यात प्रवर्द्धन समितिका सभापति मनिषलाल प्रधान अहिलेसम्म एक्जिम बैंक स्थापना गर्न नसक्नुबाट समेत निर्यात नेपालको प्राथमिकतामा नरहेको पुष्टि हुने बताउँछन् ।

निर्यातयोग्य वस्तु उत्पादनमा विदेशी लगानी भित्राउन पहल नहुनु, प्रतिस्पर्धी वस्तुको पहिचान गरी उच्च गुणस्तर कायम गर्ने गरि काम गर्न नसक्नु र आर्थिक कूटनीति समेत राज्यको प्राथमिकतामा नपर्दा निर्यात दीगो बन्न नसकेको सरोकारवालाको भनाइ छ ।

व्यापार-वाणिज्य विज्ञ सैँजु नेपालमै उत्पादन हुने वस्तुको आयात मात्र प्रतिस्थापन हुँदा पनि त्यो निर्यात बराबर नै हुने बताउँछन् । यसका लागि गम्भीर रुपमा नलागेसम्म व्यापार घाटा चुँलिदै जाने उनको भनाइ छ ।

निर्यातलाई संरक्षणको अभाव

नेपाल राष्ट्र बैंकले नेपालको व्यापारको प्रवृत्तिबारे २०७६ माघमा गरेको एक अध्ययनअनुसार २०३० को दशकमा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा निर्यातको हिस्सा ५.४ प्रतिशत रहेको थियो । नेपालले आर्थिक उदारीकरणको नीति लिएसँगै २०५६/५७ सम्म आइपुग्दा जिडिपीमा निर्यातको हिस्सा १३.१ प्रतिशतसम्म पुग्यो ।

२०६० को दशकपछि निर्यात नराम्रोसँग खस्कन थाल्यो । आव २०७५/७६ मा जिडिपीमा निर्यातको हिस्सा मात्र २.८ प्रतिशत रहेको छ । विसं २०५० को दशकमा नेपालले अलैँची, ऊनी गलैँचा, तयारी पोशाक, छाला, जुट र जुटका सामान, वनस्पति घ्यू, तामाको तार, धागो, पोलिस्टर यार्न, हस्तकलाका सामान निर्यात गथ्र्यो ।

नेपाल यी वस्तुमा आत्मनिर्भर पनि थियो । तर, अब नेपालले परम्परागत रुपमा गरिरहेको निर्यातयोग्य वस्तु परिवर्तन भएका छन् । नेपालले आफ्नो परम्पगत क्षमतालाई संरक्षण गर्न सकेन । फलस्वरुप अब नेपालको निर्यात बजार भारतसँगको ट्रान्जिट व्यापारमा बढी आश्रित हुन पुगेको छ ।

यस्तो छ आव २०७७/७८ को वैदेशिक व्यापार

  • आयात : १५ खर्ब ३९ अर्ब
  • निर्यात : १ खर्ब ४१ अर्ब
  • कुल वैदेशिक व्यापार : १६ खर्ब ८० अर्ब
  • व्यापार घाटा :१३ खर्ब ९८ अर्ब

तपाईको प्रतिक्रिया